एसीसी ट्रफी क्रिकेटको फाइनलमा नेपाल
काठमाडौं असोज २४ - नेपाल एसीसी ट्रफी एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा मलेसियालाई २१ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
अब पर्सी हुने उपाधि भिडन्तमा नेपालले युएईको समना गर्नेछ । युएई सबैभन्दा बलियो टोली अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा भएको भेटमा नेपालले युएईमाथि ४ विकेटको जित हात पारेको थियो ।
टस हारेर पहिले व्याटिङ थालेको नेपालले पारस खड्काको उत्कृष्ट व्याटिङसँगै ४५ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । नेपालका लागि कप्तान पारसले ८९ रन बनाए । ९६ बलको समना गरेका पारसले १० चौका र १ छक्का हाने । यस्तै सदर भेसवाकरले ३७ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटाले समान ३४-३४ रन बनाए । प्रदिप ऐरीले ११, अनिल मण्डलले ८, शक्ति गौचनले ५, अमृत भट्टराईले ४, सुवास खकुरेलले ३ र बसन्त रेग्मीले १ रन बनाए ।
जवाफमा व्याटिङ थालेको मलेसियाले ४५ ओभरमा ९ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । नेपालका पृथु बास्कोटाले ३ विकेट लिए भने शक्ति गौचनले २ तथा भुवन कार्की, अमृत भट्टराई, पारस खड्का र बसन्त रेग्मीले समान १-१ विकेट लिए ।
अर्को सेमिफाइनलमा युएईले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको ७१ रनको लक्ष्य युएईले २३ दशमलव ४ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।
यसअघि पहिले व्याटिङ थालेको अफगानिस्तान ३० दशमलव ४ ओभरमा ७० रन जोड्दा अलआउट भयो । युएईका राज्जाले ५ ओभरमा ६ रन दिएर ३ तथा सिल्भाले १० ओभरमा १६ रन दिएर ३ विकेट दिए ।
स्रोत :ऑनलाइन खबर
