प्रहरीलाई मिशन अस्पतालको सहयोग
टेकनारायण भट्टराई,पाल्पा, कात्तिक ३, युनाईटेड मिशन अस्पताल पाल्पाले जिल्ला प्रहरी कार्यालय पाल्पालाई घाईते उद्दार एवं प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ । दुर्घटना वा दैविक विपत्तिका बेला घाईतेहरुको तत्काल सुरक्षित उद्दार गर्न सहयोगी सामाग्री हस्तान्तरण गरिएको हो । घाईतेलाई थप चोट वा जोखिमबाट बचाउन र शरिरलाई सन्तुलित राख्न निकै उपयोगि हुने काठको स्ट्रेचर (स्पाईनल बोर्ड) सहित अन्य प्राथमिक उपचारका सामाग्री हस्तान्तर गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले प्रहरीलाई अस्पतालबाट प्राप्त उद्दार सामाग्रीले घाईतेको जीवन रक्षा गर्न सघाउ हुने बताए । प्रहरी नायव उपरिक्षक स्थानेश्वर रेग्मीले सुरक्षित उद्दारका लागि श्रोत र साधनको अभाव रहेकाबेला प्राप्त सहयोगले प्रहरी संगठनलाई थप सुदृढ बनाउन मद्दत पुगेको बताए । मिशन अस्पतालका प्रशानिक विभाग प्रमुख भुवनेश्वर देवकोटाले दुर्घटनाका घाईतेहरुलाई सहि तरिकाले उद्दार गर्न सके जीवन बचाउन सकिने भन्दै अस्पतालले मनव जीवन रक्षाका लागि योगदान गर्नु प्राथमिक लक्ष्य राखेको बताए । अस्पतालकै समुदाय स्वास्थ्य विभागका मोहन रानाले माओवादी जनयुद्धमा भन्दा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी भएको औंल्याउादै घाईतेको जीवन बचाउन सके दुर्घटनाको मृत्युदर न्यून गर्न सकिने बताए । विरामी सुताउने काठको स्पाईनल बोर्ड दश थान सहित प्राथमिक उपचारका लागि चाहिने अन्य ७ प्रकारका दश थान सामाग्री हस्तान्तरण गरिएको थियो ।
अस्पतालले यसअघि प्रहरीलाई दुईदिने उद्दार विधि र अपनाउनु पर्ने सावधानिबारे प्रशिक्षण समेत दिएको थियो । प्रशिक्षणबाट घाईतेको उद्दारका लागि धेरै ज्ञान प्राप्त भएको सभहागी प्रहरी अधिकारीहरुले अनुभव सुनाएका थिए र उनीहरुले घाईते उद्दारको अभिनय समेत गरेर देखाएका थिए ।