कपिलवस्तु निर्माण व्यवसायी संघमा चुनावी सरगर्मी
किरण मान बज्राचार्य,कपिलवस्तु, २५ असोज-आगामी असोज २७ गते हुने भएको कपिलवस्तु निर्माण व्यवसायी संघको निर्वाचनमा चहलपहल बढेको छ । संघको अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारीका लागि निर्माण व्यवसायीहरुले उम्मेदवारी दिए लगत्तै संघमा चहलपहल शुरु भएको हो ।
संघको विहिवार तौलिहवामा शुरु हुने जिल्ला अधिवेशनमा दिनेश हमाल र तपेश्वरी कहांरले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । हमाल र कहांर गरी २ वटा समूहले प्यानल खडा गरेर चुनावी प्रस्पिर्धामा उत्रिएका छन् । हमालको अध्यक्षतामा महासचिव गुन्जन गुप्ता र कोषाध्यक्ष अखिलेश कुमार गुप्ता सहित १३ सदस्यीय प्यानल तयार भएको छ । यसै गरी अर्को तर्फ कहारको अध्यक्षतामा महासचिव रामु पाण्डे र कोषाध्यक्ष प्रदीप कुमार अग्रहरीको समूह चुनावी प्रस्पिर्धामा उत्रिएको छ ।
निर्माण व्यवसायीहरुको हकहित र अधिकार संरक्षण गर्दै निर्माण व्यवसायलाई मर्यादित बनाउन आफुले उम्मेदवारी दिएको अध्यक्षका उम्मेदवार हमालले बताए । यसै गरी आफु सवैभन्दा पुरानो निर्माण व्यवसायी भएको र संघलाई व्यवस्थित गर्दै सवै सदस्यहरुको कार्यदक्षतामा सुधार ल्याउने उद्देश्यले आफुले उम्मेदवारी घोषणा गरेको कहारको भनाई छ । उम्मेदवारी घोषणा गरि सकेका उम्मेदवारहरुले सदरमुकाम तौलिहवा क्षेत्रमा विभिन्न पोष्टर, पम्पलेट तथा व्यानरहरु टांगेर चुनावी चहलपहलमा अघि बढेका छन् ।
विहिवार उद्घाटन सत्र पछिको वन्द सत्रमा विधिन्न नितिगत प्रस्तावहरु पारित गर्दै नयां कार्य समिति निर्माणको लागि चुनावी प्रक्रिया अघि बढी सकेको संघले जनाएको छ ।
जिल्लाका १ सय १६ जना निर्माण व्यवसायीहरुको आवद्धता रहेको संघमा यस अघिका सवै कार्य समिति सर्वसम्मतबाट चयन हुदै आएको भए पनि यसपटक भने निर्वाचन प्रक्रियाबाटै कार्यसमितिको चयन गरिने संघका सदस्य तथा सदस्य पदका उम्मेदवार रमेश मिश्राले बताए । यस अघिको कार्यसमितिले रकमको हरहिसाब पारदर्शी ढंगबाट नराखेको, कार्यसमितिले आफ्नो जिम्मेवारी अनुसारका कामकाज गर्न नसकेको, संघको कार्यालय व्यवस्थापन गर्न नसकेको निर्माण ब्यवसायीको गुनासो छ ।
