ठेक्कामा पुरातात्विक स्थल,चेत्रादेईकोट तीब्र अतिक्रमणको चपेटामा
कपिलवस्तु, १७ असोज-कपिलवस्तुको धनकौली ८ धर्मपुरमा रहेको चेत्रादेई कोट स्थानियबासीहरुले अतिक्रमण गरेका छन् । बर्षौ देखि स्थानिय १३ जनाले करिब ५ विगाहा ६ कठ्ठा र ४ धुर क्षेत्रफलमा फैलिएको उक्त पुरातात्विक स्थललाई खनजोत गरि तरकारी खेती गर्दै आएका छन् । कपिलवस्तु संग्रहालयका प्रमुख कृपाशंकर गुप्ताको स्वीकृती लिएर धनकौली गाबिस पंडीतडीहवा गााउका १३ जनालाई खेती गरी रहेको स्थाीयबासीको आरोप छ । तिलौराकोट उत्खननका क्रममा सो स्थान बुद्ध संग सम्बन्धित रहेको हुदा पुरातत्व विभागले त्यसलाई पुरातात्विक क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रको संरक्षणको जिम्मा पाएको कपिलवस्तु संग्रहालयले लापरवाही गरेपछि स्थानिय गाउलेले त्यस क्षेत्रलाई पूर्ण रुपले अतिक्रमण गरिसकेका छन् । सो क्षेत्रमा २ वटा ठूला स्तूप , भवनका भग्नावशेष, प्राचीन ईट्टा रहेको संग्रहालयले जनाउको छ । हाल सो स्थानमा कृषकले लगाएको तरकारी तथा स्तुप रहेका ठााउमा झारपात र रुख मात्र देखन्छ । मालपोत कार्यालयका अनुसार धनकौली गाविस क्षेत्रको कित्ता नं. १९२ संग्रहालयको नाममा २०२८ सालमा दर्ता भएको थियो । धनकौली गाबिस– ६ का वडा अध्यक्ष मोहोम्मद मुसलमानले गुप्ताले ती कृषकलाई ठेक्कामा खेती गर्न सो जमिन दिएको आरोप लगाए । उनक अनुासर १३ कृषकले उनलाई बार्षिक रुपमा रकम दिने गरेका छन् । केहीले भने उत्पादनको आधा हिस्सा उाहालाई बुझाउने गरेको छन् ।
पूर्णवासी केवट, बुधराम केवट, नगीना केवट, अमरजीत भर, राजमन केवट, शंकर केवट, झिनक केवट, स्वराज केवट, बलिराम केवट, रालौटन केवट, लोरिक केवट, अर्जून केवट, ध्रव भर, रमाकान्त केवटले उक्त जग्गामा बर्षोदेखि भोगचलन गर्दै आएका छन् । उनीहरु बिरुद्ध प्रशासन कार्यालयमा ढाई बर्ष अघि उजुरी समेत परेको थियो । कब्जा गरेकाहरुले उक्त जग्गा ऐलानी भएको भन्दै आफूहरुले कब्जा गरेको बताउछन् । तरकारी खेती बारे सग्रहालयका गुप्तालाई जानकारी रहे पनि हालसम्म कसैले रोकटोक गर्न नआएको उनीहरुको भनाई छ ।
पुरातात्विक स्थल कब्जा भएको भन्दै स्थानियबासी धर्मेन्द्र केवटले प्रशासन तथा पुरातत्व विभागमा गत २०६६ चैत्रमा नै उजुरी हालेको बताए । “हाल सम्म कुनै सुनुवाई भएको छैन अब यसको अस्तित्व समाप्त हुन्छ” उनले गुनासो गरे । उनले पनि गुप्ताले उक्त पुरातात्विक जग्गा जोतभाग गर्न अनुमति दिएको आरोप लगाए । जथाभावी खनजोतले गर्दा पुरातात्वि पहिचान नष्ट भईरहे पनि कसैले यो कार्य नरोकेको स्थानीयबासीले गुनासो गरे । बिभाग, प्रशासन कार्यालय तथा अख्तिायार दुरुपयोग अनुसंधान आयोगमा समेत उजुरी दिएको एक बर्ष बितीसक्यो तर हालसम्म अतिक्रमण भने नहटेको उनीहरुले बताए । अतिक्रमण गर्ने ब्यक्तिलाई केही राजनीतक दलका नेताले समेत संरक्षण दिएकोले यस्ले हालसम्म निकाश पाउन नसकेको उनीहरुको भनाई छ । हालसम्म उक्त स्थालको उत्खनन र संरक्षण भएको छैन ।
पुरातात्विक जस्तो ऐतिहासिक स्थल विनाश हुने गरि आफुले कसैलाई कब्जा गर्न र खेती गर्न अनुमति नदिएको दाबी गर्दै प्रमुख कृपाशंकर गुप्ताले त्यसबारे प्रशासन र पुरातत्व विभागमा पटक पटक जानकारी गराइसकेको बताए । सो जग्गा अतिक्रमण भएको स्विकार गर्दै उनले एक्लो प्रयासले केहि गर्न गर्न नसक्ने भन्दै लाचारी प्रकट गरे । कम्तिमा तारवार गर्न सके अतिक्रमण रोकिने उनको भनाई छ । प्रशासन कार्यालयका प्रशाुकीय अधिकृत पुरन गिरीले अतिक्रमणका बिषयमा छानबिन गरी दोषी उपर कारबाही गर्ने जनाए । उनले अतिक्रमण हटाउन तत्कालै कदम चानिले प्रतिबद्धता जनाए ।
कपिलवस्तुमा रहेका एक सय भन्दा बढि पुरातात्विक स्थलहरुको संरक्षणको जिम्मा पाएको संग्रहालयका वेवास्ताका कारण अहिले यहााका पुरातात्विक स्थलहरु अतिक्रमित हुदै गइरहेको छ । जसको कारण यसको संख्या दिनानुदिन घट्दै गइरहेको छ । मानविय अतिक्रमण रोक्न तथा संरक्षणमा चासो नदेखाएकै कारण कपिलवस्तुबासीहरुले पटक पटक सरकार तथा संस्कृति मन्त्रालय संग छुट्टै कपिलवस्तु विकास कोष स्थापनाका माग गर्दै आइरहेका छन् ।
