अरिहन्त मल्टिफाइवर्स उद्योगमा कार्यरत एक मजदुरको विभत्स हत्या
इटहरी, असोज २५ - सुनसरी सोनापुरस्थित अरिहन्त मल्टिफाइवर्स उद्योगमा कार्यरत एक मजदुरको विभत्स हत्या भएको छ।
उद्योगभन्दा झन्डै दुइ किलोमिटर टाढा नहरमा कन्चनपुर कालीका-२ घर भएका २१ वर्षिय मानबहादुर तामाङ हत्या गरिएको अवस्थामा आज दिउँसो भेटिएका थिए । मजदुर तामाङ्को घाटीमा धारिलो हतियार प्रहार गरी रेटिएको छ।
सुनसरी-मोरङ्का उद्योगमा कामदारको अभाव पुरा गर्न पश्चिमको कैलालीसहित आसपासका जिल्लाबाट जेठ पहिलो साता झन्डै सय जनाकेा टोली आएको बेला तामाङ् पनि आएका थिए।
उद्योगले पश्चिमबाट ल्याएका सबै मजदुरलाई आवास सुविधाको व्यवस्था गरेको थियो। केही समय उद्योगले उपलब्ध गराएको आवासमै बसेपनि उद्योगमै कार्यरत फुर्वादेवी शेर्पासँग प्रेम विवाह गरेका उनले सोनापुर गाउँमै कोठा लिएर बस्दै आएका थिए।
उद्योगका प्रशासकीय अधिकृत गोविन्द बजगाईका अनुसार तामाङ् अन्तिम समय मंगलबार काम गर्न आएका छन्। हिजो उनी काम गर्न गएनन् । उद्योगले उनलाई मंगलबार राति नै वा बुधवार हत्या गरेको अनुमान गरेको छ। 'मानबहादुर अत्यन्त इमान्दार र राम्रो बानी बेहोरा भएको मजदुरमा पर्थे,' प्रशासकीय अधिकृत बजगाईँले भने।
हत्या कसले र किन गर्र्यो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी निरीक्षक खड्ग पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा सुनियोजित रुपमा हत्या गरेको देखिन्छ।
नौ महिनाअघि आफन्त मार्फत अरिहन्तमा काम गर्न आइपुगेका उनी यतिराज पौडेलको कन्ट्रयाक्टबाट पश्चिमका मजदुर काम गर्न आउँने क्रममा आएका हुन्।
स्रोत : नागरिक न्यूज
