|

बरामद गरेका टेलिभिजन प्रहरीले भागबन्डा गरे

वीरगन्ज, १४ कात्तिक । वडा प्रहरी कार्यालय विर्ताले तस्करीको भनेर बरामद गरेका सामान प्रहरीले आपसमा बाँडेका छन् । नियन्त्रणमा लिइएको चारवटा रंगीन टेलिभिजन प्रहरीले भागबन्डा गरेर लिएका हुन् ।

बरामद गरिएको टिभी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । वडा प्रहरी कार्यालय विर्ताले विशेष सुराकीका आधारमा २ असोजमा चारवटा भारतीय टिभी बरामद गरेको थियो । बरामद भएका चारवटा कबेस्टन ब्रान्डका टिभीमध्ये वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर सुजन जोशीले करिब ४० हजार रुपियाँ मूल्य पर्ने ३२ इन्चको एलइडी टिभी घर लगेका छन् । बाँकी १४ इन्चका तीन रंगीन टिभी वडा प्रहरी कार्यालयकै सई र असईले लगेका हुन् । काठमाडांै स्थायी घर भएका इन्स्पेक्टर जोशीले एलइडी टिभी बुद्ध एयरको जहाजबाट सिमराबाट काठमाडांै पठाएको स्रोतले बताएको छ ।

इन्स्पेक्टर जोशीकै नेतृत्वमा रहेको टोलीले २ असोजमा वीरगन्जको लिंकरोडस्थित लक्की इम्पेक्स टिभी पसलबाट चारवटा तस्करीको टिभी नियन्त्रणमा लिएको थियो । तस्करले सीमावर्ती भारतीय सहर रक्सौलबाट भन्सार छलेर लिंकरोडको टिभी पसलमा पुर्‍याएलगत्तै प्रहरीले चारवटै टिभी बरामद गरेको हो ।

इन्स्पेक्टर जोशीले टिभी भागबन्डा लगाइएको आरोप भ्रामक भएको प्रतिक्रिया दिए । उनले बरामद भएका टिभी अझै पनि वडा प्रहरी कार्यालयमै रहेको दाबी गरे । ‘तस्कर पक्राउ गर्न टिभी भन्सारमा नबुझाएको हो,’ सौर्यसँग इन्स्पेक्टर जोशीले भने, ‘अब एक/दुई दिनमा तस्करसहित टिभी सार्वजनिक गर्छाैं ।’

यसैबीच, बरामद भएका टिभी प्रहरी अधिकृतले आफैँमा भागबन्डा लगाएको खबर बाहिर चुहिएपछि इन्स्पेक्टर जोशीले उम्किने बाटो बनाएका छन् । उनले वीरगन्जबाटै अर्को एक थान एलइडी टिभी खरिद गरेको स्रोतले बताएको छ । नगवास्थित जय शिवशक्ति इलेक्ट्रोनिक्स प्रालिबाट इन्स्पेक्टर जोशीले ४० हजार रुपियाँमा ३२ इन्चको एलइडी खरिद गरेका हुन् । ४० हजार रुपियाँमध्ये २० हजार रुपियाँ अझै उनले तिर्न बाँकी रहेको बुझिएको छ । स्रोत :सौर्य दैनिक

Posted by Butwalonline on 7:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बरामद गरेका टेलिभिजन प्रहरीले भागबन्डा गरे"

Leave a reply