|

कतारमा १ सय ४ नेपाली कामदार बिचल्लीमा

दोहा, कार्तिक ६ - निर्माण क्षेत्रमा कार्यरत १ सय ४ नेपाली कामदार कतारबाट स्वदेश फर्कन वञ्चित भएका छन् । उनीहरुलाई कम्पनीले एक महिनादेखि खाना दिनसमेत बन्द गरेको छ ।

कतारको पिसिएसआई स्पेशल टाइस कम्पनीमा कार्यरत उनीहरूले गत सेटेम्बर २५ बाट घर पठाउन माग गर्दै काम बन्द गरेपछि कम्पनीले स्वदेश नपठाई बन्द गरेको हो । उनीहरुले स्वदेश फिर्तीका लागि यहाको श्रम अदालतमा मुद्दासमेत दायर गरेका छन् ।

कम्पनीले अधिकांश कामदारको परिचयपत्र नबनाइदिएको, तलब रोक्दै आएको र घर जाने समय भएकालाई पनि महिनौसम्म नपठाई कोठामै राख्ने गरेकाले काम बन्द गरेको अर्घाखाँचीका टुकबहादुर दर्जीले बताए । पीडित कामदारलाई नेपाली दुतावासले खाना खुवाइरहेको छ ।

पीडितहरूलाई उद्धार गर्न चरणबद्ध रुपमा कम्पनीका अधिकारीहरुसँग पहल भइरहेको नेपाली राजदुत मायाकुमारी शर्माले बताइन् । उनले पीडितलाई खानाका लागि बञ्चित हुन नदिन दुताबासले व्यवस्था मिलाउँदै आएको बताइन् । पीडितलाई यहाको नयाँ परिवार एसोसियनले पनि केही दिनलाई पुग्ने खाना उपलब्ध गराएको छ ।

पीडितहरूले छिटो भन्दा छिटो घर जान आतुर भएको बताए । उनीहरूले समस्या समाधान गर्न कम्पनीका मुख्य अधिकारीहरुलाई पटकपटक दुताबास लगे पनि मिल्न सकेन ।

श्रम सहचारी इन्द्रदेव पाण्डेका अनुसार दुबै पक्षलाई राखेर समस्या समाधान गर्न गरेको पहल सफल हुन सकेको छैन । तीन साताअघि सबै कामदारलाई स्वदेश पठाउन यहाँको डिपोटेशन सेन्टरमा लगिएको थियो । उनीहरुलाई एक रात राखेर फेरी क्याम्पमै फर्काएको हो । कामदारहरुले आफुहरुसँग परिचयपत्र नभएकाले जतिखेर पनि प्रक्राउ पर्ने डरले क्याम्मबाट बाहिर निस्किएका छैनन् ।

लाहानका ओशो अहमदले चाडपर्बका समयमा आफुहरु बिचल्लीमा परेकाले निकै तनाबमा रहेको बताए । दुताबासले आउने २८ अक्टोबरमा २५ जनाको टोली पठाउने तयारी गरेको जनाएको छ । यहा कार्यरत कामदारको न्युनत तलब ६ सय रियाल हो । यहा आउने अधिकास कामदार ट्यालेन्ट सर्भिस म्यानपावरले पठाएका हुन् । दुई महिनाअघि मात्रै ६० हजार खर्चेर आएका सर्लाहीका जितेन हजारीले आएदेखि एक पैसा पनि नपाएकाले आफुहरु निकै तनाब परेको बताए ।

फिर्ती केन्द्रमा ७ सय


चाडपर्बको मौकामा घर जान खोजेर आफैंलाई गिरफ्तार गराएका झन्डै ७ सय नेपाली फिर्ती केन्द्रको जेलमा छन् ।

राजदुत शर्माका अनुसार गैरकानुनी हैसियतमा रहेका ७ सयभन्दा बढी नेपाली घरजाने प्रतिक्षामा छन् । टिकट अभाबमा उनीहरु समयमा र्फकन पाएनन् ।

दशै र तिहारमा टिकटको अभाब छ ।  घर फिर्ने एकतर्फी टिकटका लागि २ हजार रियालसम्म लाग्छ । जेलमा बसेकाले त्यति महँगो टिकट लिन सकेका छैनन् ।
स्रोत :कांतिपुर

Posted by Butwalonline on 7:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कतारमा १ सय ४ नेपाली कामदार बिचल्लीमा "

Leave a reply