पहिरोमा पुरिएकाको खोजी जारी, चारको शव फेला पर्यो
इलाम , आश्विन १५ - मेची राजमार्ग अन्तर्गत इलामको पूर्वी कोल्बुङ- १ स्थित हर्कटे-हाँसपोखरीमा पहिरोमा पुरिएर हराएकामध्ये चार जनाको शव भेटिएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीयवासीको उद्दार टोलीले सोमबार बिहान चार जनाको शव भेटेको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । पहिरोमा पुरिएका १० जनाको अवस्था थाहा भएको छैन । तीमध्ये ७ जना भारतीय नागरिक हुन् । उनीहरु दार्जिलिङको सुखियाका भएको प्रहरीको भनाइ छ ।अविरल वर्षापछिको पहिरोले पाँच वटा सवारी पुरिएका थिए । दुई वटा कार अझै भेटिएका छैनन् ।
फिक्कलस्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक विष्णुहरि घिमिरेका अनुसार छ जना घाइतेको उपचार भइरहेको छ । आइतबार राति नौ बजे पहिरो गएको हो । कन्यामदेखि सडकको विभिन्न स्थानमा पहिरो खसेको छ । मेची राजमार्ग आइतबार रातिदेखि नै अबरुद्ध छ ।
स्रोत :कांतिपुर
