|

नेपाल टेलिकमले एसएमएस सेवामा कात्तिक महिनैभरि आधा छुट दिने


काठमाडौँ, असोज २७ - नेपाल टेलिकमले दसैँ र तिहारको अवसरमा एसएमएस सेवामा कात्तिक महिनैभरि आधा छुट दिने भएको छ। विगतका दसैँ र तिहारमा जस्तै यसपटक पनि टेलिकमले एसएमएसमा आधा छुट गरेको हो।विगतमा फुलपातीदेखि टीकाको दिनसम्ममात्र दिइने यस्तो छुट यसपटक असोज २९ देखि मंसिर ५ सम्मकै लागि दिने नीति टेलिकमको छ।

शुक्रबार टेलिकमले सार्वजनिक गरेको चाडपर्व छुट योजनानुसार प्रिपेड मोबाइलका ग्राहकलाई दसैँ र तिहारको अवसरमा १० प्रतिशत बोनस दिने भएको छ। असोज ३० देखि मंसिर ४ सम्म कल गर्दा ग्राहकले खर्च गरेको रकमको १० प्रतिशत बोनस उपलब्ध गराउने योजना टेलिकमले सार्वजनिक गरेको छ।

‘ग्राहकले असोज ३० देखि मंसिर ४ सम्म प्रिपेड मोबाइलमा खर्च गरेको रकमको १० प्रतिशत बोनस मंसिर ५ गते फिर्ता गरिनेछ,' टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले भनिन्।

टेलिकमले दसैँतिहारका लागि ल्याएको विभिन्न ग्राहकमुखी योजनालाई दूरसञ्चार प्राधिकरणले शुक्रबारै स्वीकृति गरेको हो। प्राप्त बोनस रकम दुई महिनाभित्र खर्च गरिसक्नुपर्ने सर्त टेलिकमले राखेको छ।
त्यस्तै पोस्टपेड मोबाइलका ग्राहकलाई टेलिकमले कात्तिक र मंसिर दुई महिनाभरि पूरै धरौटी बराबरको कल गर्न दिने भएको छ। अहिले धरौटीको ९० प्रतिशत नाघेपछि मोबाइल एकतर्फी हुन्छ। पोस्टपेडका ग्राहकलाई कात्तिक महिनामा १० प्रतिशत छुट दिने योजनासमेत टेलिकमको छ।

पर्वकै अवसरमा सीडीएमए ई-भिडिओका ग्राहकलाई एक महिनाका लागि एकसय एमबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ। यो सेवा असोज २९ देखि मंसिर ४ सम्मका लागि उपलब्ध हुनेसमेत टेलिकमले जनाएको छ।
त्यस्तै जीएसएम थि्रजी प्रिपेड तथा डाटाकार्ड, ई-भिडिओको शुल्क समेत घटाइएको छ। अब दुईसय रुपियाँमा एकसय रुपियाँ टकटाइम वा डाटा प्रयोग गर्न सकिने मूल्य रहेको सिमकार्ड उपलब्ध हुने भएको छ। विगतमा सिमकार्डको शुल्क तीनसय रुपियाँ थियो।

ल्यान्डलाइनका ग्राहकलाई समेत दसैँतिहारको निम्ति टेलिकमले छुट योजना ल्याएको छ। अहिले मासिक दुईसय रुपियाँमा एकसय ७५ कल गर्न पाउनेमा कात्तिकका लागि ५० कल थप गरेर २ सय २५ स्थानीय कल बनाइएको छ।

टेलिकमले दसैँतिहारका लागि छ देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने महसुलसमेत घटाएको छ। अस्ट्रेलिया, चीन, हङकङ, बंगलादेश, कुवेत र बहराइनमा कल गर्दा अहिले लाग्दै आएको महसुललाई घटाएको छ। अब प्रतिमिनेट चीनमा तीन रुपियाँ, बंगलादेशमा चार रुपियाँ, अष्ट्रेलिया सात रुपियाँ ७५ पैसा र कुवेत, बहराइनका लागि आठ रुपियाँ तोकिएको छ।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल टेलिकमले एसएमएस सेवामा कात्तिक महिनैभरि आधा छुट दिने"

Leave a reply