लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तथा पर्यटन केन्द्रका रुपमा विकास गर्न लन्डनमा सम्झौता
असोज २५ - लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तथा पर्यटन केन्द्रका रुपमा विकास गर्न एक वर्षदेखि सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसिया प्यासेफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) ले लन्डनमा अर्को सम्झौता गरेको छ।
३ अर्ब डलर लगानीमा लुम्बिनीलाई विशेष आर्थिक क्षेत्र बनाउने योजना अगाडि सार्दै आएको एपेक र बेलायतमा मुख्यालय रहेको भर्टिकल थिम पार्क (भिटिपी) ग्रुपबीच एक महिनाअघि लुम्बिनीमा सहकार्य गर्ने सम्झौता भएको हो।
परियोजना निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको भिटिपी ग्रुप बेलायती राजपरिवार निकट रियल स्टेट व्यवसायी सम्मिलित कम्पनी हो। 'नेपालको लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थयात्रा तथा पर्यटन केन्द्रका रुपमा विकास गर्ने प्रस्तावित परियोजनाको मुख्य विकास प्रबन्धक रहने गरी भिटिपी ग्लोबल स्पेसल परियोजना टिमले एपेकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको' भिटिपीले १३ सेप्टेम्बरमा आफ्नो वेबपेजमार्फत सार्वजनिक गरेको हो।
अहिलेसम्म गोप्य राखिएको समझदारीपत्रमा बेइजिङ मुख्यालय रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एपेकका कार्यकारी उपाध्यक्ष सियाओ उनान र भिटिपी ग्लोबलका अध्यक्ष ब्रायन पिट्टिफेरले हस्ताक्षर गरेका छन्।
लन्डनसहित युरोप भ्रमणपछि केही दिनअघि हङकङ आइपुगेका उपाध्यक्ष उनानले नागरिकसँग भने, 'भिटिपीका अधिकारीसँग लामो छलफलपछि लुम्बिनी परियोजनामा उनीहरूको अनुभव समावेश गर्ने र परियोजना डिजाइनमा सहयोग उपलब्ध गराउने सम्झौता भएको छ।'
भिटिपीले सुरुदेखि नै लुम्बिनी परियोजनामा चासो राखेको उनले खुलाए। 'भिटिपी ग्रुपले एक वर्षदेखि नै लुम्बिनी परियोजनालाई हेरिरहेको थियो, ऊ यसमा पश्चिमा अवधारणा र भूमिका समावेश गर्न चाहन्थ्यो,' चिनियाँ बौद्धमार्गी उनानले भने, 'भिटिपीमा प्रायः क्रिश्चियन धर्ममा विश्वास गर्नेहरू छन्, तथापि उनीहरू यो परियोजनामा संलग्न भएर आफ्नो अनुभव उपयोग होस् भन्ने चाहन्छन्।'
विकास व्यवस्थापन र परामर्श क्षेत्रमा पनि काम गर्दै आएको भिटिपी टावर, सहरी सेन्टर र पर्यटन क्षेत्रको विकासमा लामो अनुभव भएको प्रसिद्ध अन्तर्राष्ट्रिय कम्पनी मानिन्छ। चीनमा भर्खरै परियोजना सुरु गर्न लागेको उक्त कम्पनीले विश्वमा आफ्ना छवटा प्राथमिक व्यावसायिक गतिविधिमध्ये लुम्बिनीलाई विशेष परियोजनाअन्तर्गत चौथो नम्बरमा राखेको छ।
भिटिपीले लन्डनकै डिजाइन कम्पनी एरिक कुहने एन्ड एसोसएट्सका विश्वप्रसिद्ध डिजाइनर एरिक कुहनेबाट 'लुम्बिनी क्लाउड' टावरको नक्सासमेत तयार गरिसकेको छ। लुम्बिनी भिलेजको उत्तरी क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको सय मिटर अग्लो टावर 'बौद्ध धर्मको अन्तर्राष्ट्रिय प्रतीक' हुने बताइएको छ। एपेक प्रतिनिधिमण्डलले एरिक कुहनेसँग उनले बनाएको 'लुम्बिनी क्लाउड' टावरबारे पनि विस्तृत छलफल गरेको थियो।
लुम्बिनी परियोजनाको प्राविधिक पक्ष अध्ययन गर्न गत वर्ष राष्ट्रसंघीय विकास नियोग युनिडो बेइजिङसँग सम्झौता गरेपछि एपेक विवादमा तानिएको थियो। उपाध्यक्ष उनानले चीन, दक्षिण कोरिया, जापान, मध्यपूर्व, उत्तर अमेरिकालगायत विश्व समुदायले लुम्बिनी योजनामा समर्थन जनाएको बताउँदै एक वर्षमा परियोजना डिजाइनमा महतवपूर्ण उपलब्धि भएको दाबी गरे।
लुम्बिनीलाई दीर्घकालीन 'हेरिटेज साइट' को रुपमा विकास गर्ने राष्ट्रसंघको मान्यतामा पनि अहिले परिवर्तन आएको बताउँदै उनानले भने, 'हामीले विकास गरेको परियोजनाले लुम्बिनीको सांस्कृतिक र मानवीय पक्ष समेटेको छ, यसले राष्ट्रसंघीय मान्यता समेट्छ भन्ने राष्ट्रसंघीय ह्याविट्याटको पनि विश्वास छ।'
लुम्बिनी योजनाकै सिलसिलामा अघिल्लो महिना काठमाडांै आएका उनानले एपेकका सहअध्यक्षसमेत रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। काठमाडौंबाट दिल्ली पुगेका उनले त्यहाँ केही राजनीतिक व्यक्तित्वलगायत तिब्बती बौद्ध नेता कर्मापा लामासँग पनि भेटवार्ता गरेका थिए। भारत निर्वासित भएर धर्मशालामा बस्दै आएका १७ औं कर्मापा दलाई लामा र पञ्चेन लामापछि तिब्बती बौद्ध धर्मका मुख्य नेता हुन्। कर्मापा सियाओका पहिलेदेखिका साथी हुन् तर अहिलेको भेटवार्ताबाट उनले लुम्बिनी योजनामा निर्वासित तिब्बतीहरूको पनि समर्थन जुटाउन खोजेको देखिन्छ।
लुम्बिनी योजनामा भारतको सहयोग जुटाउने प्रयासमा रहेको एपेकले आफ्नो सहअध्यक्षको सूचीमा भारतीय व्यावसायीलाई पनि थप्ने तयारी गरेको छ। उपाध्यक्ष उनानले भारत र चीनबाट एक-एकजना थपेर सहअध्यक्षको संख्या आठबाट दस पुर्याउने तयारी भइरहेको बताए। एक महिनापछि पहिलोपटक काठमाडौँमा बस्ने एपेक बैठकले लन्डन सम्झौता अनुमोदन गर्ने र सहअध्यक्ष थप्ने निर्णय गर्ने अनुमान छ।
स्रोत :नागरिक
