सावधान !! तपाइको टेलिफोन कुराकानी रेकर्ड त भएको छैन ?
काठमाडौं, भाद्र २८ - दूरसञ्चार माध्यममा तपाईंले गरेको कुराकानीको गोपनीयतामा कत्तिको विश्वस्त हुनुहुन्छ ? यदि विश्वस्त हुनुहुन्छ भने तपाईं गलत ठहरिनुहुनेछ । कल डिटेल लिएर कसैको टेलिफोन सम्पर्क अरूले थाहा पाउने खतरा त छँदै छ । एसएमएस डिटेल लिएर मोबाइल सन्देशमा उल्लेख गरेको कुरा (टेक्स्ट) अरूले पढिदिन सक्छन् । खतरा यतिमै सीमित छैन ।
अलि अघि माओवादी नेता कृष्णबहादुर महराले हङकङमा चिनियाँ मूलका एक व्यवसायीसँग गरेको गोप्य कुराकानी टेप भई सार्वजनिक भएको थियो । 'हामीले त ठूला नेताहरू भेट हुँदा मोबाइलमा तपाईंले गरेका कुराकानी गोप्य छैनन्, होस गर्नुहोला भन्ने गरेका छौं,' उक्त टेप प्रकरणको अनौपचारिक छानबिन गरेका एक इन्जिनियरले भने । छानबिन गर्दा यकिन भन्न नसके पनि भारतीय लगानीको टेलिकम कम्पनीमा टेप गर्ने उपकरण राखेको अनुमानमा इन्जिनियरको टोली पुगेको थियो ।
इजाजत लिएर मोबाइल सम्पर्क टेप गर्ने उपकरण टेलिकम कम्पनीहरूले भित्र्याएका छैनन् । नेपाल टेलिकम कम्पनीसँग ल्यान्डलाइन (पीएसटीएन) को कुराकानी टेप गर्ने उपकरण छ । शाहीकालमा सुरक्षा निकायले राजाविरोधी कतिपय नेताको सम्पर्क टेप गरेको थियो । इन्टरनेट व्यवसायमा संलग्न एक व्यवसायीले यस्तो समस्याबाट आफू पनि पीडित भएको सुनाए । डेढ वर्षअघि व्यापारिक विवाद भएपछि आफूले गरेको कुराकानी र गएको ठाउँ विपक्षीले थाहा पाएपछि उनले मोबाइल परिवर्तन गरेका थिए ।
सस्तो मोलमा अन्तर्राष्ट्रिय कलको सेवा दिन टेलिकम अपरेटरहरूले यूटीएलको गेट वे प्रयोग गरिरहेका छन् । यसैले १४२४ डायल गरी गरिने सस्तो अन्तर्राष्ट्रिय कल यूटीएलको पकडबाहिर छैन । तर ऊसँग टेप गर्ने उपकरण आवश्यक छ । मुलुकमा यस्तो उपकरण भित्रिएको जानकारीमा नभएको प्रवक्ता कैलाशप्रसाद न्यौपानेले बताए । 'कसैले इजाजत नलिई भित्र्याएको भए त्यो गैरकानुनी हो,' उनले थपे ।
फ्रिक्वेन्सीबाट चल्ने भएकाले मोबाइल नेटवर्क पूर्ण सुरक्षित मानिँदैन । टेलिकम प्राविधिकका अनुसार डिभाइस प्रयोग गरी हावामा फ्रिक्वेन्सीमार्फत भइरहेको सम्पर्कबाट आफूले चाहेको नम्बरको कुराकानी छानेर टेप गर्न सकिन्छ । यसैले यसमा हस्तक्षेपलाई कानुनबाटै दण्डनीय बनाउने प्रचलन छ । तर यहाँ संविधानले गोपनीयताको हक सुरक्षित गरे पनि दण्डनीय बनाउने छुट्टै कानुन नभएकाले दुरुपयोग भइरहेको छ ।
सुरक्षा निकायले अनुसन्धानका क्रममा मोबाइलको आधारमा खोजिएका व्यक्तिको स्थान (भीएलआर) थाहा पाउन खोज्दा टेलिकम कम्पनीहरूले मोबाइलसँग सम्पर्क भएको टावर (बीटीएस) को आधारमा क्षेत्रको सूचना दिए पनि कहाँ छ भनेर 'पिनप्वाइन्ट' गर्न सक्तैनन् । तर भारतीय सुरक्षा निकायले आफूले खोजी गरेको व्यक्तिको स्थान 'पिनप्वाइन्ट' गरेर पक्राउ गरिदिन अनुरोध गर्ने गर्छन् । 'हामीले नपाएको सुविधा भारतीय सुरक्षा निकायले पाएको देख्दा अचम्म लाग्छ,' नेपाल प्रहरीका एक अधिकारीले भने । 'ठूलो एरियाभित्र निगरानी राख्न टेलिकम अपरेटरमा घुसपैठ नगरी सम्भव छैन,' उनले भने । तर टेलिकम अपरेटरले इजाजत नलिई टेप गर्ने उपकरण प्रयोग गरेको आशंका गरे पनि अहिलेसम्म छापा मारेको छैन ।
विदेशका गुप्तचर एजेन्सीले गैरकानुनी रूपमा डिभाइस राखेर चाहेको व्यक्तिको कुराकानी टेप गरिरहेको प्राधिकरणका अधिकारीले बताए । त्यस्ता एजेन्सीले संवेदनशील क्षेत्रका वरपर टेलिफोन सम्पर्क ह्याकिङ गर्ने उपकरण राखेर टेप गरिरहेको अनुमान छ ।
सानो आकारको यस्ता उपकरणको मूल्य ५ हजार अमेरिकी डलरबाट सुरु हुने टेलिकम इन्जिनियर बताउँछन् । नेपालका टेलिकम अपरेटर कम्पनीमा उपकरण सप्लाइ गर्ने छिमेकी मुलुकहरूबाट पनि गोपनीयता सुरक्षित नरहेको प्राविधिकहरूको भनाइ छ । सबै टेलिकम अपरेटरले चिनियाँ र भारतीय कम्पनीका उपकरण प्रयोग गरेका छन् । टेलिकम र एनसेलका अधिकांश उपकरण चिनियाँ जेडटीई र हुवावईका छन् । टेलिकमले एसएमएस डिटेलको उपकरण भारतीय कन्भाइभ कम्पनीको छ । फैजान अहमद हत्याको अनुसन्धानका क्रममा उनको मोबाइलको कल डिटेलमा एसएमएस गरेको देखिन्थ्यो । तर एसएमएस डिटेल खाली थियो । टेलिकमले भारतीय कम्पनीलाई इमेल गरी एसएमएस डिटेल नपाए कारबाही गर्ने चेतावनी दिएपछि उसले उपलब्ध गराएको थियो ।
दूरसञ्चार माध्यममा हुने सम्पर्कको गोपनीयता जोगाउन सरकारले कानुन बनाउनु पर्ने प्राधिकरणको सदस्य पदमा रहिसकेका अधिवक्ता तुलसी भट्ट बताउँछन् । संसारभरि सञ्चारमाध्यमबाट गोपनीयता भंग गर्नेमाथि फौज्दारी अभियोग लगाउने गरिएको उनले बताए ।सामग्री साभार कांतिपुर
Posted by Butwalonline
on 5:40 PM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response