राष्ट्रपतिले भूमिका खेल्नुपर्छ: एमाले नेता पोखरेल
मुक्तिप्रसाद न्यौपाने,पाल्पा भदौ २८ - दलहरुको क्रियाशिलता, सहमतिय सरकार निर्माण र संविधानका लागि राष्ट्रपतिले भूमिका खेल्नुपर्ने नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बताएका छन् ।
प्रेस चौतारी नेपाल पाल्पाले बिहीबार गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरेलले राजनीतिक तथा संवैधानिक हिसाबमा नैतिकता गुमाएको सरकार परिवर्तन जरुरी रहेको र त्यसका लागि दलहरुको क्रियाशिलताकालागि राष्ट्रपति सक्रिय हुनुपर्ने बताएका हुन् । काम चलाउ सरकारले दीर्घकालिन काम गर्न नमिल्ने भएकोले संकट समाधानका विषयमा सरकार परिवर्तन एमालेको स्पष्ट धारणा भएको उनको भनाई थियो ।
एकिकृत नेकपा माओवादीमा उग्रवामपन्थी सोंच र अतिवाद रहेको र सत्ता कब्जाको रणनीतिलाई अरु दलहरुले चिन्न नसक्दा देशले राजनीतिक र संवैधानिक संकट भोगिरहेको छ । अढाई दर्जन बढी सम्झौतामा एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका र त्यसमध्ये ९० प्रतिशत पुरा नभएकोले उ कि सकिनुपर्छ, कि सप्रिनुपर्छ नेता पोखरेलले बताए ।
नेकपा एमाले पाल्पाको सातौं जिल्ला सम्मेलन उद्घाटनकालागि एमाले नेताहरु पोखरेल, छविलाल विश्वकर्मा, वैधनाथ चौधरी लगायत पाल्पा आएकाहुन् ।