मलेशियामा एक नेपालीलाई मृत्युदंडको फैसला
काठमाडौ, आश्विन ९ - लागूपदार्थ काराबवारको अभियोगमा परेर नौ बर्षदेखि मलेशियाको कारागारमा रहेका नुवाकोट, बसुन्चेत-१ का हरिबहादुर घलेलाई मृत्युदण्ड दिनेबारेको उच्च अदालतको फैसलालाई क्वालालाम्पुर सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
मंगलबार बिहान भएको अदालती निर्णयले 'घलेको बचाउमा गरिएको आवेदन' खारेज गर्दै पुरानै मृत्युदण्ड फैसलालाई सदर गरेको हो । मलेशियामा लागूऔषध कारोबार गरेको अभियोगमा २००३ मे ३० मा घले पक्राउ परेका थिए ।
क्वालालाम्पुरस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्ती अनुसार मलेशियामा तीन वर्ष काम गरी घर फिर्ने क्रममा र होटेलको कोठामा बसिरहेकै बेला घले पक्राउ परेका थिए । घलेले अर्का चिनारु कामदार गणेश तामाङको आग्रहमा एउटा झोला बोकेका थिए । त्यही झोला खानतलासी गर्ने त्रत्रममा ८सय७५ ग्राम हिरोइन फेला परेको आधारमा प्रहरीले घलेलाई पक्राउ गरेको थियो ।
उक्त घटनामा मुख्य व्यक्ति मानिएका झोला मालिक गणेश तामाङ्ग भने घटना हुनु पूर्वै फरार भइसकेको दुतावासलाई जानकारी भएको थियो । घलेसँगै पक्राउ परेका साजन गुरुङ स्वास्थ्य समस्याबाट ग्रसित भएर उपचार क्रममैं मलेशियास्थित काजंग अस्पतालमा गत २०१० जनवरी २० मा निधन भइसकेको छ ।
'लामो समयसम्म विदेशको जेलमा रहेका घलेको घरको आथिर्क अवस्था दयनीय छ,'दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मलेशियाको प्रहरी प्रशासनले घलेलाई लागूऔषध सम्बन्धी नियम १९५२ को दफा ३९ अन्तर्गत मद्दा चलाएको र यसै क्रममा जालन दत्त उच्च न्यायलयले २००९ नोभेम्बर २६ मा उनलाई मृत्यूदण्ड दिने फैसला गरेको थियो ।
उक्त फैसलामाथि ६ महिनाभित्र 'कोर्ट अफ अपिल्स'मा अपिल गर्न पाइने प्रावधान अनुसार घलेले सुनुवाइका लागि अनुरोध गरेका थिए ।समाचार कांतिपुर बाट