फेवातालमा डुबेका १० जनालाई हेलिकप्टरद्वारा उद्वार
पोखरा, असोज ९- फेवातालमा मंगलबार बिहान डुंगामा सवार विदेशी पर्यटकसहित १० जना डुबेको खबर आयो। सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली तुरुन्तै डुंगा र मोटर बोट लिएर उद्वारमा खटिए। उद्वार कार्य ढिलो भई डुबेकाको ज्यान जान सक्ने अवस्थाले गर्दा तत्कालै हेलिकप्टर समेत परिचालन गर्नुपर्यो।
नजिकैको रत्नमन्दिरमा रहेको हेलिकप्टर आवश्यक उपकरणसहित फेवातालको बीचमा गुहार माग्दै गरेका व्यक्तिको उद्वारमा पुगिहाल्यो। डोरीको सहायताले जालीयुक्त बास्केट तालमा झारेर डुबेकामध्ये केहीलाई उचालेर हेलिकप्टरले ताल किनार ल्याएको थियो। उपचारका लागि ताल किनारमा तैनाथ स्वास्थ्यकर्मीले उद्वार गरिएकाहरुको उपचार गरेको छ।
फेवातालमा वर्षेनी डुंगा दुर्घटना भई यसैगरी कैयन्को मृत्युहुने गरेको छ। यस्तै घटना फेरी दोहोरिए थप ज्यान जान नपाओस् भनेर मंगलबार फेवातालमा विपतको यस्तो आपतकालिन उद्वार अभ्यास गरिएको हो। अभ्यासमा चितवनको कुरिनटारस्थित सशस्त्रको विपत व्यवस्थापन तालिम केन्द्रका सेना, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिएका हुन्। उक्त अभ्यासमा तीनै सुरक्षा अंगका एक सयभन्दा बढी सुरक्षाकर्मी खटिएको सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरले जानकारी दिए।
उद्दार अभ्यासको अवलोकनका लागि सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, नेपाली सेनाका पश्चिम पृतनापति उपरथी भिक्टरशम्शेर राणा, गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल, कास्कीका निमित्त प्रजिअ अन्तरबहादुर सिलवाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायत उपस्थित थिए।
करिब एकघण्टा लामो उद्वार अभ्यासका क्रममा परिचालित सेना, प्रहरी र सशस्त्रले सफलतापूर्वक तालमा डुबेका सबैको उद्वार गरेका थिए। उद्वारमा विभिन्न उपकरण सहित तालिम प्राप्त दुईवटा कुकुर समेत परिचालन गरिएको थियो। समाचार नागरिक न्यूज बाट