मिडियाकै कारण सामाजिक सदभाव बिग्रने चिन्ता-अर्थमन्त्री
परासी, भदौ २४- अर्थमन्त्री वर्षमान पुनले देशभर धेरै रेडियो रहेको र सबै चल्ने स्थिति नरहेको बताउँदै सञ्चार क्षेत्रमा पनि एकीकरण वा एकापसमा गाभ्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरेका छन्।
सञ्चार मन्त्रालयका अनुसार अहिले देशभर ४७६ वटा रेडियोले प्रसारण अनुमति पाएका छन्। त्यसमध्ये नियमित प्रसारण हुने रेडियोको संख्या ३२७ छ।
मन्त्री पुनले पत्रकार तथा सञ्चार माध्यमकै कारण सामाजिक सदभाव बिग्रने हो कि भन्ने आशङ्का उब्जिएको बताए। सञ्चारक्षेत्र कतिपय मामिलामा एकपक्षीय र राजनीतिक पूर्वाग्रहयुक्त भएको उनको गुनासो थियो।
आज नवलपरासीको बर्दघाटमा रहेको रेडियो दाउन्नेको उदघाट्न तथा तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री पुनले भने - हामीले जनतालाई संविधान दिन सकेनौँ। यसको अर्थ यो सरकार टिकाइरहनु पर्छ भन्ने होइन।
प्रमुख दलहरुबीचमा भएको पाँचबुँदे सहमतिका आधारमा वर्तमान राजनीतिक सङ्कट समाधान हुनसक्ने बताएका छन्। उनले निर्धारित समयमा संविधान बनाउन नसकेकै कारण राजनीतिक नेतृत्व जनताको कठघरामा उभिन परेको स्पष्ट पारे।
एमाओवादीका नेतासमेत रहेका मन्त्री पुनले कुनै दल विशेषप्रति आफूले दोष नलगाउने भन्दै अब आर्थिक क्रान्ति नै सबैको प्राथमिकता हुनुपर्नेमा जोड दिए। (समाचार नागरिक न्यूज बाट)