समायोजन रोजेका लडाकु धमाधम स्वैक्षिक अवकाश रोज्दै
परासी, वैशाख ३ - माओवादी लडाकु (जनमुक्ति सेना) को नेपाली सेनामा सामूहिक प्रवेशको अवस्था नहुने भएपछि समायोजन रोजेका लडाकु धमाधम स्वैक्षिक अवकाश रोज्न थालेका छन् । पहिला नेपाली सेनामै जाने भन्दै आएका माओवादी लडाकुको अहिले मनस्थित परिवर्तन भई स्वैक्षिक अवकाशको विकल्प रोज्न थालेका हुन् ।
पहिलो चरणमा लडाकु वर्गीकरण हुँदा विभिन्न समस्या देखाउँदै स्वैक्षिक अवकाश रोज्दै आएका थिए, तर अहिले पछिल्लो चरणको वर्गीकरणमा नेपाली सेनाभित्र कुन स्थान पाउने वा सेनाभित्र प्रवेश पाउने कि नपाउने अन्योलताले पनि अधिकांश कमाण्डरहरू पनि स्वैक्षिक अवकाशको रोजाइमा पुगेका हुन् । बाहिर भन्नुपर्दा पार्टीको माथिल्लो नीतिअनुसार अवकाश रोजेको बताए पनि सेना समायोजनमा जाँदा मापदण्ड पुग्छ कि पुग्दैन, सेनाको तालिममा सफल भइन्छ कि भइँदैन भन्ने आशंकाले पनि अवकाश रोज्न थालेको लडाकुहरूको भनाइ छ ।
नवलपरासीको कावासोती घर भएका झ्यालटुङडाँडामा स्वैक्षिक अवकाश रोजेका प्लाटुन कमाण्डर रामबहादुर भट्टले आफूले सेनामा कुन दर्जा पाउने निश्चित नभएकाले स्वैक्षिक अवकाश रोजेको बताए । एक त सेनाभित्र मापदण्ड पुग्ने कि नपुग्ने अवस्था छ, अर्कोतिर यहाँको पद अनुसारको दर्जा नै पाइन्छ भने कुनै ग्यारेन्टी नभएकाले अन्तिम विकल्प अवकाश रोजेको उनको भनाइ छ । ‘पहिला त सेनाको छनोटमा पर्न सकिन्छ कि सकिन्न’भट्टले भने, ‘छनोट भए पनि शिविरभित्र पाएको दर्जा पाइन्छ कि पाइन्न कुनै ग्यारेन्टी छैन ।’ शिविर भित्रको कमाण्ड समाल्दै आएकाले सेना भित्र हवल्दार पनि नहुने अवस्था भएकाले आफूले अवकाश रोजेको जनाए ।
शिविरकै आर्का प्लाटुन कमाण्डर विवसले भने ब्रिगेड कमाण्डरहरूकै कुन स्थान पाउने ठेगान नभएकाले हामी जस्तो तल्लो तहले सेनाभित्र छिर्न सकिन्छ भन्ने कुनै सम्भावना नभएकाले अन्तिम चरणमा आएर अवकाश रोजेको जनाए । सेना समायोजन रोजेर अन्तिममा गएर फालिनु भन्दा त अवकाश रोजेर पार्टी राजनीति नै गर्नु बेस मानेर अवकाश रोजेको धेरै लडाकुहरूको भनाइ थियो । जुन स्वतन्त्रता जनमुक्ति सेना हुँदा थियो, त्यो स्वतन्त्रता नेपाली सेनाभित्र हुँदैन, काम गर्न पनि कठिन हुने भएकाले अधिकांश साथीले अन्तिममा आएर स्वैक्षिक अवकाश रोजेको उनले जनाए ।
यता पहिलो चरणको वर्गीकरणभन्दा अहिले धेरै काउन्सेलिङ गर्न नपरेको सेना समायोजन विशेष समितिको टोलीले जनाएको छ । अहिले आफै आएर फाराम भर्ने र चेक तथा यातायात रकम बुझेर जाने गरेको विशेष समिति सचिवालय सदस्य तथा टोली प्रमुख सदानन्द कुर्मीले बताए । ‘हामीसँग भन्दा माथिको पार्टीको नीति अनुसार पुन स्वैक्षिक अवकाश रोजेको बताउँदै आएका छन्’ कुर्मीले भने, ‘तर उनीहरूमा पहिला समायोजन रोज्दा जुन उत्साह थियो, त्यो उत्साह अहिले छैन ।’ अहिले चौथो डिभिजनबाटै पाँच सयभन्दा बढीले स्वैक्षिक अवकाश रोज्ने अनुमान गरिएको छ ।
विशेष समितिको टोलीअनुसार डिभिजन मुख्यालय झ्यालटुङडाँडाबाट मात्रै साढे तीन सयले स्वैक्षिक अवकाश रोजेका छन् । सहायक शिविरमा पुनर्वर्गीकरण कार्य भइरहेको टोलीले जनाएको छ । चौथो डिभिजनमा पहिलो वर्गीकरणमा १ हजार २ सय ७८ जनाले समायोजन रोजेका थिए ।
चार लडाकु नजरबन्दमा
शिविर भित्र भएको आर्थिक अनियमितताका कुरा उठाउने चौथो डिभिजन अन्तर्गत परिर्वतन स्मृति ब्रिगेड सहायक शिविर हातिखोरमा चार जना लडाकुलाई नजरबन्दमा राखिएको छ । शिविरभित्र कमाण्डरहरूले आर्थिक पारदर्शिताको माग गर्न थालेपछि शिविरका कम्पनी सह कमाण्डर निसान, सेक्सन कमाण्डर सूर्या, सेक्सन सह कमाण्डर निश्छल र सदस्य युगान्तलाई निलम्बन गरी नजरबन्दमा राखिएको हो ।
आर्थिक पारदर्शिताको माग गर्दै उनीहरूले गत मंगलबार शिविर भित्रै लडाकु चड्ने तीनवटा सवारी साधन र प्रतीक्षालयमा आगजनी गरेका थिए । शिविरमा नेपाली सेना आउनु अगाडि नै उनीहरूले अल्टिमेटम दिएको र अल्टिमेटम दिएको समयमा पनि हिसाब किताब सार्वजनिक नभएपछि आक्रोसित हुँदै आगजनी गरेकाले उनीहरूलाई नजरबन्दमा राखिएको शिविर स्रोतले जनायो । अहिले नेपाली सेनाले शिविर नियन्त्रणमा लिइसकेको छ । शिविरभित्रको अनियमितता बाहिर नजाओस् भनी नजर बन्दमा राखिएको श्रोतको दाबी छ ।
शिविरभित्र आर्थिक अनियमितताका कुरा अफवाह मात्र भएको दाबी बिगेड कमाण्डर तथा शिविर प्रमुख समेत रहेका जेम्सले बताए । नजरबन्दमा राखिएको कुरा बकवास मात्र भएको जनाउँदै उनले नियन्त्रणमा रहेका ती लडाकुहरूलाई अनुसन्धानपछि उनीहरूले स्वैक्षिक अवकाश रोजेवापत पाउने रकम दिइएर पठाइने जनाए ।
शक्तिखोरका १ हजार २७४ अबकाशमा
बिनोद त्रिपाठी
शक्तिखोर (चितवन)
समायोजन रोजेर बसेका धेरै लडाकु उमेर र योग्यता नमिल्दा सेनामा जान नसक्ने भएका छन् ।
अनमिनको पालामा जारी गरेको उमेर र अहिले पढाईलाई निरन्तरता दिंदा घटाएको उमेर मेल नखांदा धेरै लडाकु सेनामा प्रबेश गर्न नसक्ने भएका हुन् । यहि कारणले आईतबारसम्म शक्तिखोर शिविरका लडाकुले अनुमान भन्दा धेरैले स्वैच्छिक अबकास रोजे ।
तेस्रो डिभिजनको आन्तरिक तयारी स्वरुप मापदण्डमा नपर्ने लडाकुलाई स्वतः अबकास दिने निर्णय भए बमोजिम उनीहरुलाई चेक दिएर बिदाई गरिएको हो । समायोजन रोजेर बसेका २ हजार २ सय १४ जना मध्ये १ हजार २ सय ७८ जनालाई चेक दिएर बिदा गरिएको सचिबालयले जनाएको छ । चेक बितरण क्रम अझै १÷२ दिनसम्म हुन्छ, बिशेष समिति सचिबालय संयोजक बालानन्द शर्माले ईकान्तिपुरसंग भने, ‘धेरै लडाकुको उमेरमा ब्यापक फरक देखिएको छ ।’ सामान्य फरक देखिएको मिलाउंदा पनि धेरै लडाकुको उमेर र योग्यता नमिल्दा अबकासमा जानुको बिकल्प नभएको उनले बताए ।
अनमिनको पालामा जारी उमेर र नागरिकता नमिलेका, नागरिकता र अहिलेको शैक्षिक प्रमाणपत्र नमिलेका लगायतका समस्याले सेनामा समायोजन हुन लडाकुलाई रोकेको हो । उमेर धेरै पुगेका तर अहिले पढाईलाई निरन्तरता दिंदा नागरिकता अनुसार उमेर नमिल्नु सबै भन्दा ठुलो समस्या हो, शर्माले भने,‘मिलाउन मिल्नेसम्म मिलाएका छौं, तर धेरै नै बेमेल हुने लडाकुलाई समायोजनमा पठाउन सकेका छैनौं ।’ योग्यता बढाएपनि कानुनी रुपमा उमेर बढी भएका लडाकुलाई समायोजन पठाउन नसकिने उनले बताए ।
लडाकूहरुले सेनाको आचरण, अनुसाशन र मर्यादा अबलम्बन गर्नु पर्ने
जे पाण्डे
नेपालगन्ज
सरकारले माओवादी लडाकूले पालना गर्नुपर्ने आचार संहिता जारी गर्दै उनीहरुलाई सैनिक नियम भित्र बस्न निर्देशन समेत दिएको छ ।
सो आचार संहिता अनुसार सेना समायोजन प्रकृया सम्पन्न नभए सम्म शिबीरहरु सुरक्षा बेस (सेनाको ब्यारेक)का रुपमा रहने छन् । लडाकूहरुले अब देखि नेपाली सेनाको आचरण , अनुसाशन र मर्यादा अबलम्बन गर्नु पर्ने छ ।
सरकारले उक्त आचार संहिता शनिबार राति माओवादीका सबै ७ डिभिजनामा पठाएको हो । आचार संहितमा स्थानीय बासिन्दालाई असरपार्ने कार्य गर्न नहुने उल्लेख छ । नेपाली सेना र लडाकूलाई एक अर्कालाई उत्तेजित तूल्याउने कुनै कार्य नगर्न पनि भनिएको छ । बिशेष समितिले तयार पारेको उक्त आचार संहिताले शिबीर भित्र राजनीतिक गतिबिधि र सभा सम्मेलन गर्न रोक लगाएको छ ।
समाचार कान्तिपुर दैनिकबाट
