मृत्यूदण्ड सुनाईएका सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा १ लाख ६५ हजार रकम संकलन
बिनोद परियार,बुटवल,२१ भदौ । दुबईमा मृत्यूदण्ड सुनाईएका पर्वत चित्रेका दुर्गाबहादुर सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा आज १ लाख ६५ हजार रकम संकलन भएको छ । संयुक्त अरब इमिरेटस युएईको शारजाहमा मृत्युदण्डको सजाय सुनाईएका सुनारको जीवनरक्षाका सहयोग समितिले बुटवलबाट सो रकम संकलन गरेको हो ।
रेडियो जागरण बुटवल र नेपाल सुनचादी ब्यवसायि संघको संयुक्त पहलमा शुरु गरिएको आसर्थक संकलन अभियानको पहिलो दिनमै सन्तोषजनकरुपमा आर्थिक संकलन भएको समितिका संयोजक एमबि विश्वकर्माले बताउनुभयो । सुनचादी ब्यवसायि र दलित समुदायले सुनारको जीवनरक्षाका लागि आर्थिक सहयोग दिएको विश्वकर्माले बताउनुभयो । तीन वर्षअघि सामान्य कुटपीट हुँदा सुनसरीका गणेशहादुर बस्नेतको मृत्युभएपछि सुनारलाई त्यहाँको अदालतले मृत्युदण्ढको सजायँ सुनाएको छ ।
विकल्पमा मृतक परिवारलाई सुनार परिवारले ब्लड मनी बुझाउर्ने भएकाले बुटवलमा आर्थिक संकलन अभियान शुरु गरिएको हो ।
मृतक परिवारलाई ब्लड मनि बुझाएको भन्ने कागजात तयार नभएमा मृत्यु दण्डको सजायँ कार्यान्वयन हुने भएकोले घरघरमा पुगेर आर्थिक संकलन गरिएको सहयोग समितिका सदस्य एंव रेडियो जागरणका स्टेशन म्यानेजर शिवजी गायकले बताउनुभयो ।
दुर्गाबहादुर सुनारका आमा आफनो छोराको जीवन बचाउन केही दिन अघि पर्वतबाट काठमाडौंमा अपिल गर्दै हिडेकी छन् । मृतकको परिवारले १० लाख रुपैयाँ ब्लड मनि मागेपछि सुनारका परिवारजन समस्यामा परेका हुन । बुटवलमा भोली पनि आर्थिक संकलन जारी रहने छ ।