त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा मार्न तीन पटक विमानस्थल बन्द
काठमाडौं, आश्विन १४ - चिल ठोक्किएर सीता एयरको जहाज दुर्घटना भएको पूर्वानुमान भइरहेका बेला शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उडेका चरा मार्न तीन पटक विमानस्थल बन्द गरिएको छ । बिहान १० देखि ३ बजेको बीचमा विमानस्थल बन्द गरिएको स्रोतले बतायो । तीन पटक गरिएको बन्दका कारण विमानस्थलमा झन्डै डेढ घन्टा उडान भएको थिएन । विमानस्थलमा चरा हटाउन राष्ट्रिय चरा तथा वन्यजन्तु नियन्त्रण समिति छ । चरा तथा जीवजन्तुको आवागमन घटाउन १२ जना 'सिकारी' समेत राखिएको छ । चिलले जहाजको दायाँ इन्जिनमा लागेपछि त्यसको आधा भाग उछिट्टएिर पछाडिको भागमा रहेको 'भर्टिकल फाइन' मा लागेपछि जहाज अनियन्त्रित भएको प्राधिकरणका एक अधिकारीले बताए । 'फाइनमा इन्जिन ठोक्किएपछि प्वाल परेको र त्यसले गर्दा जहाजले दायाँबायाँ दिशामा फर्किन नसकेको हो,' ती अधिकारीले भने, 'दिशा निर्णय गर्न नसक्दा स्टल भएको जहाज खसेर दुर्घटना भयो ।
चालक दलका तीनसहित १९ जनाको मृत्यु भएको सीता एयरको दुर्घटनापछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले निजी विमान कम्पनी, हवाई विज्ञ र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलका क्रममा बुद्ध एयरका व्यवस्थापक वीरेन्द्र बस्नेतले विमानस्थलमा देखिएको चरा तथा जीवजन्तुको आवागमन जोखिमपूर्ण विषय भएको बताए । 'चरा नियन्त्रण समिति छ तर निष्त्रिmयजस्तै छ,' उनले भने, 'बन्दुक छन्, काम नलाग्ने छन् । यस्तो अवस्था सुधारिनुपर्छ ।'
विमानस्थलमा चरा तथा जीवजन्तुको बिगबिगीका कारण नजिकैको बस्तीबाट फालिने फोहोर, सेकुवा कर्नरलगायत हुन् । तर यसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन । 'यसमा सरकारले समस्या समाधान गर्नेभन्दा पनि नागरिक आफैं सचेत हुने कुरा हो,' मन्त्री बोगटीले भने, 'तैपनि सबै पक्षलाई राखेर एक पटक छलफल गर्छौं ।' यसअघि विमान बंगलादेशको ककपिटमा चरा ठोक्किएपछि सरकारले विमानस्थल नजिकका सेकुवा कर्नर हटाउने तथा फालिने फोहोरको व्यवस्थापनका लागि प्रयास भने गरेको थियो । सरकारले शनिबार सम्बन्धित निकायलाई दुर्गम क्षेत्र उडान हुने विमानस्थल काठमाडौं, पोखरा र नेपालगन्जमा तत्काल सेफ्टी इन्स्पेक्टर तैनाथ गराउन निर्देशन दिएको छ । त्यस्तै चरा नियन्त्रण समितिलाई सक्रिय बनाउने निर्णय प्राधिकरणले गरेको छ ।
चराका कारण साना घटना भने त्रिभुवन विमानस्थलमा बारम्बार हुने गरेका छन् ।
यसअघि २०६८ जेठमा भोजपुरबाट यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको ९ एनबीओ विमान अवतरण गर्दा, उड्न लागेको विमान बंगलादेशको ककपिटमा -२०६७ भदौ १९), काठमाडौंबाट विराटनगर अवतरण गर्ने क्रममा बुद्ध एयरको ७२ सिटे एटीआरको पंखामा -२०६९ साउन १८) र २०६९ जेठ ३१ मा जुम्लाबाट नेपालगन्ज हिँडेको तारा एयरको ९ एनएसईभी जहाजको अगाडिको सिसामा चरा ठोक्किएका थिए । यी सबै घटनामा जहाजमा सामान्य क्षति पुगे पनि यात्रु तथा चालक दलका सबै सदस्यलाई सकुशल
थिए । विश्वमा भने विभिन्न समयमा चरा ठोक्किएकै कारण भएका दुर्घटना धेरै छन् । बेलायतका जोन थोर्पेले बनाएको एक रिपोर्टमा सन् १९१२ देखि २००२ सम्म विश्वभरमा ४२ -फेटल) दुर्घटना भएको उल्लेख छ । दुर्घटनामा २ सय ३१ को मृत्यु हुनुका साथै ८० विमान क्षतिग्रस्त भएको रिपोर्टमा छ । नेपालमा भएका हवाई दुर्घटनाका छानबिन प्रतिवेदनले ९० प्रतिशतभन्दा बढी मानवीय त्रुटिका कारणले हुने गरेको देखाएका छन् ।
चिनियाँ भनिएका एक मृतक अमेरिकी रहेछन् सीता एयरको शुक्रबार भएको दुर्घटनामा सार्वजनिक भएको विदेशी मृतकमध्ये एक अमेरिकी नागरिक भएको खुलेको छ । विमान कम्पनीले शनिबार राति सार्वजनिक गरेको सूचीअनुसार मृतक वु हुईको नागरिकता नम्बर ४८५२८३७८ छ ।
दुर्घटनाको एक/दुई घन्टामै बि्रटिस र चिनियाँ दूतावासले पुष्टि गरेर आफन्तलाई जानकारी दिन मृत नागरिकको पासपोर्ट र परिचयपत्र नम्बर उपलब्ध गराउन सरकारलाई आग्रह गरेको थियो । तर विमान कम्पनी र ट्राभल एजेन्सीसँग हवाई यात्रा गर्ने कुनै पनि यात्रुको परिचय खुल्ने कागजात नभएकाले तत्काल पहिचान पुष्टि भएको थिएन । 'दुवै दूतावासबाट निकै दबाब आएको थियो तर हामीले आवश्यक प्रमाण दिन सकेनौं,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले भने 'ट्राभल एजेन्सी र विमान कम्पनीको ठूलो लापरबाही देखिएको छ ।' यसअघि ७ बि्रटिस, ५ चिनियाँ नागरिकको नाम विमान कम्पनीले सार्वजनिक गरेको थियो । 'भन्नासाथ प्रमाणित गर्ने कागजात दिन नसक्नु गम्भीर विषय हो,' मन्त्री बोगटीले भने, 'सरकारले बनाएको नियमलाई नमानेर निजी क्षेत्रले गल्ती गरिरहेको छ ।' उनका अनुसार पासपोर्टको फोटोकपी तथा परिचयपत्र नम्बरका लागि ३ घन्टा कुर्दा पनि दिन सकेको थिएन । बि्रटिस सरकारले मृतकको पहिचानका लागि आफ्ना दुई अधिकारीसमेत यहाँ पठाएको छ ।
यसअघि पनि २०६७ मंसिर २९ मा लामिडाँडाबाट काठमाडौं र्फकने क्रममा तारा एयरको टि्वनअटर दुर्घटनामा नेपालीका नाममा १८ जना भुटानी र एक तिब्बती नागरिक परेका थिए । दुर्घटनाको एक दिनपछि मात्र मर्नेहरू भुटानी भन्ने थाहा भएको थियो ।
त्यसपछि नागरिक उड्डयन प्राधिकरणले नेपाली यात्रुका हकमा समेत हवाई टिकट लिँदा अनिवार्य परिचयपत्रको फोटोकपी एजेन्सीलाई उपलब्ध गराउनुपर्ने र बोर्डिङ पास लिँदासमेत परिचयपत्र देखाउन अनिवार्य गरेको थियो । 'यहाँ नियम मान्नेभन्दा पनि कसले बढी उल्लंघन गर्ने प्रवृत्ति बढेको छ,' बोगटीले भने, 'दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीका लागि प्राधिकरणलाई भनिएको छ ।' उनले आवश्यक परे प्राधिकरणकै आन्तरिक अनुसन्धान गरी जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गर्न सकिने बताए । स्रोत :कांतिपुर