डूब्यो कपिलवस्तुको अशोक स्तम्भ पानीमा,सम्बन्धित निकाय मौन
कपिलवस्तु, भदौ १८-नेपालमा रहेका तीनवटा अशोक स्तम्भमध्ये एक अशोक स्तम्भ पुरै पानीमा डुबेको छ। कपिलवस्तुको गोटिहवा गाविसमा रहेको अशोक स्तम्भ डुबेको हो। भारतीय सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थल भन्दै स्थापना गरेको उक्त शीलास्तम्भको पुरै भाग डुबेको छ।
ऐतिहासिक महत्व बोकेको महत्वपूर्ण पुरातात्विक स्थल गोटिहवाको अशोक स्तम्भ महिना दिनदेखि पानीमा डुबेको हो। जमिनबाट ११ फिट लामो रहेको स्तम्भको एक फुट मात्र पानी बाहिर देखिएको छ।यसरी लगातार पानीमा डुब्दा स्तम्भको अस्तित्व खतरामा पर्दै गएको छ। वर्षाका बेला अधिकांश समय स्तम्भ पानीमा डुब्ने गरेको छ। यस वर्ष पनि चार पटक गरी ५/७ सातासम्म लगातार स्तम्भ पानीमा डुबेको गाउँलेले जानकारी दिए।
धेरै समय पानीमा डुब्दा सिपेज भई साल्ट एक्सन हुँदा स्तम्भ निक्कै कमजोर हुने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत कृष्णबहादुर केसीले जानकारी दिनुभयो। उहाँले नुनिलो पानीले गर्दा पत्थरको स्तम्भलाई नोक्सानी पुर्याई छिट्टै टुटफुट हुने बताए।
स्तम्भको संरक्षणको जिम्मा पाएको लुम्बिनी विकास कोषको बेवास्ताको कारण स्तम्भमा लेखिएका प्राचीन एवम् महत्वपूर्ण अक्षर मेटिदै गएका छन्। पुरातत्वविद् केसीले भन्नुभयो, "सम्राट अशोकले स्तम्भमा लेखाएका अधिकांश अक्षर मेटिन गएको छ।" स्तम्भको ४०० मिटर परिधिमा तारबार गरे पनि संरक्षण भने गरिएको छैन।
स्तम्भ उत्खनन भएको २०/२५ वर्ष अघिदेखि डुब्दै आएको स्थानीयबासी बताउँछन्। जमिनसँगै बरोबर भएकालेे स्तम्भ डुब्ने गरेको छ। करिब ११ फिट लामो स्तम्भको माथिको एक फिट भाग मात्र बाहिर देखिएको छ। त्यस्तै डेढ बाई डेढ मिटरको वर्गाकार भागको बीचमा स्तम्भ छ। अहिले सबै भाग पानीले डुबेको छ।(समाचार नागरिक न्यूज बाट)