सेती नदीमा फाल हालेकी एक युवतीको उद्वार
पोखरा, साउन २९- पोखराको व्यस्त बजार महेन्द्रपुलबाट सोमबार अपरान्ह सेती नदीमा फाल हालेकी एक युवती पुलमुनिको तारजालीमा अल्झिएर बाँचेकी छिन्। २६ वर्षीया ललिता वर्मालाई नजिकैको नयाँ गोरख गणका सेनाले पुलमुनिको जालीबाट डोरीको सहयोगले उद्वार गरी बचाएका हुन्।
महेन्द्रपुलकै छेउमा रंगको पसल गर्ने बाबु वैद्यनाथ वर्मासँग सामान्य विवाद भएपछि ललिताले अपरान्ह ३ बजेतिर सबैले देख्ने गरी फाल हालेकी थिइन्। त्यतिबेला बाबु भने भर्खरै कोठामा पुगेका मात्रै थिए। उनीजस्तै रंग र जडीबुटीको पसल गर्ने छिमेकीले ललिता पुलबाट फाल हालेको देखेपछि तत्कालै प्रहरी र पुलपारी बस्ने सेनालाई खबर गरेका थिए।
तत्कालै पुगेको सेनाले डोरीको मद्दतले युवती अडि्कएको जालीसम्म पुगेर करिब आधा घण्टापछि उद्वार गरेको थियो। बाबु वैद्यनाथले मानसिक सन्तुलन ठीक नभएकी छोरीलाई जथाभावी अरुसँग नहिँड्न आफूले सम्झाउँदा रिसाएर फाल हाल्न गएको बताए। कास्की प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले उद्वारपछि वर्मालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जानकारी दिए। उनको अवस्था सामान्य रहेको पौडेलले बताए।
नवलपरासीको वर्मा परिवार विगत ३७ वर्षदेखि पोखराको महेन्द्रपुल छेउमा रंगको पसल गर्दै आएको थियो। बोल्न नसक्ने माइली छोरीलाई वर्माले केही वर्षअघि परासीमै बिबाह गरी पठाएका थिए। उनी घरभन्दा बढी माइतीमै बस्ने गर्थिन्। बाबुका अनुसार उनी ७-८ दिनअघि मात्रै परासीबाट आएकी हुन्।
घरमा कसैलाई थाहै नदिई छोरी पटक-पटक अपरिचित महिला तथा पुरुषसँग हिँड्ने र दुई-चार दिन हराउने गर्न थालेपछि दिक्दार भएर सम्झाएको उनले बताए। उनकाअनुसार सोमबार पनि ललितालाई लिन एक अपरिचत महिला आएकी थिइन्। बाबुले ती महिलासँग नजान सम्झाएको केहीबेरपछि ललिताले दौडँदै गएर पुलको बीचबाटै फाल हालेको छिमेकी एक महिलाले जानकारी दिइन्।
(समाचार नागरिक न्यूज बाट)