कतारमा परिवारका सदस्यबाहेक अरूलाई व्यक्तिगत करारपत्रमा ल्याउन नपाउने
दोहा, श्रावण २३ - कतारस्थित नेपाली दूतावासले परिवारका सदस्यबाहेक अरूलाई व्यक्तिगत करारपत्रमा ल्याउन कार्य आइतबारदेखि रोकेको छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा कतार आउने कामदार ठगिने क्रम बढेपछि दूतावासले 'हाडनाता' भित्रका सदस्यलाई मात्रै व्यक्तिगत रूपमा ल्याउन दिन थालेको हो । अरू आफन्तलाई ल्याउनुपरे गाविसबाट बनाएको नातेदारको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गराएपछि मात्रै दूतावासले करारपत्र प्रमाणीकरण गर्ने राजदूत मायाकुमारी शर्माले बताइन् ।
दूतावासले अरूलाई ल्याउन पेस गरेको व्यक्तिगत करारपत्रको प्रमाणीकरण गर्न छाडेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदारको करारपत्रमा दूतावासको प्रमाणीकरण अनिवार्य हुनुका साथै दूतावासको वेबसाइटमा प्रमाणित भिसा भएपछि मात्रै वैदेशिक रोजगार विभागले कतारमा काम गर्न जान अनुमति दिने गर्छ ।
'आफन्तभित्र ठगिएको उजुरी दूतावासमा धेरै आउन थाले,' राजदूत शर्माले भनिन्, 'पीडितलाई न्याय दिन समात्ने व्यक्ति समेत भेटिँदैन ।' दूतावासमा भिनाजु, साला, ठुलाबुबा, काकाभतिजा, साढुभाइ, जेठानबाट ठगिनेहरू उजुरी लिएर थुप्रै जाने गरेका छन् ।
कतारमा संस्थागत (म्यानपावर) भन्दा व्यक्तिगत (व्यक्ति आफैंको जिम्मेवारी) श्रम स्वीकृतिमा बढी कामदार आएका छन् । गत आर्थिक वर्षमा ६१ हजार १ सय ४६ जना कामदार व्यक्तिगत श्रम स्वीकृतिमा आएका छन् । जबपक ४४ हजार ५ सय ३५ जना कामदार संस्थागत श्रम स्वीकृतिमा आएका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिमा आउनेहरूको कामको टुंगो नहुने, करारपत्र अनुसार तलब सेवा सुविधा नपाउने र बढी मजारा, भेडा हेरालुतर्फ काम गर्नुपरेको उजुरी दूतावासमा आएका छन् । अर्कोतर्फ कतारमै विभिन्न गाविसको लेटरप्याडमा नाता प्रमाणित भएको नक्कली कागजात बन्न थालेको दूतावासको बुझाइ छ ।
एक जना कामदार झिकाउँदा कम्पनीबाट राम्रो कमिसन पाउने र फ्री भिसा र फ्री टिकटको खर्च पनि कामदारसँग लिने भएका भएकाले आफन्तका नाममा कामदार झिकाउनेहरू बढेको दूतावासले जनाएको छ । अर्कोतर्फ म्यानपावर कम्पनीले समेत व्यक्तिगत श्रम स्वीकृतिमा पठाउने क्रम बढेको छ ।
'आफ्नो मान्छे भएकोले तनुवा भिसामा आएको हुँ । उसले भनेको कम्पनी भन्दा अर्कोमा परियो । तलब पेपरमा १ हजार थियो । ५ सय ५० रियाल हात पर्यो,' शान्तिपुर-९ गुल्मीका पदमबहादुर पुनले भने, 'व्यक्तिगत भिसामा आउँदा असुरक्षित भइने रहेछ ।'
समाचार कांतिपुर बाट