|

काजकिरिया भइसकेको व्यक्ति २२ वर्षपछि भेटिए


बाँके, असार २५ - मृत्यु भइसकेको ठानेर काजकिरिया गरिएका बुवालाई जीवितै भेट्दा संगीता पुनले सुरुमा पत्याइनन् । रुकुम मुरु-३ का ५९ वर्षीय बुवा लोकबहादुर पुन २२ वर्षअघि भारतमा बेपत्ता भएका थिए ।

सबैले मृत्यु भइसकेको भन्न थालेपछि परिवारले उनको काजकिरिया गरेको थियो । जानकारी नै नदिई घर छाडेर हिँडेका लोकबहादुरले पनि लामो अवधिमा परिवारलाई चिठी, फोन र सम्पर्कसमेत गरेनन् ।

'२२ वर्षपछि बुवा भेटिनुभो, पत्याउनै मुस्किल परिरहेछ,' संगीताले भनिन्, 'म सानै छँदा बेपत्ता हुनुभएको थियो, मैले जान्ने/बुझ्ने भएपछि पहिलोपल्ट बुवाको मुख देखें ।' बिरामी अवस्थामा परिवारको सम्पर्कमा आएका लोकबहादुरको नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार भइरहेको छ ।

'जन्म दिने बुवाको मुख पनि देख्न पाएको थिइनँ, भाग्यले देख्न पाएँ,' संगीताले भनिन्, 'काजकिरिया गरिसकेका व्यक्ति जीवितै भेटिएला भनेर सोच्न पनि सक्ने कुरा थिएन ।' यतिका वर्षसम्म अत्तोपत्तो नभएपछि पत्नी कौशिल्याले पनि आस मारिसकेकी थिइन् । उनीहरूका ६ छोरी छन् ।

भारत हिमाञ्चल प्रदेशको सिमला जिल्लामा पर्ने गाउँमा मजदुरी गर्ने क्रममा लोकबहादुर डेढ महिनाअघि भीरबाट लडेर घाइते भएका थिए । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ ।

घाइते लोकबहादुर भारतकै अस्पतालमा बेवारिसे भेटिएपछि भारतीय प्रहरीले अखिल भारत-नेपाली एकता मञ्चसँग सम्पर्क गरी फर्काएको हो । मञ्चले आफन्तको खोजी गर्ने क्रममा छोरी संगीतालाई भेट्न सफल भयो । 'हाम्रो प्रयास सफल भयो, हामीले उहाँको परिवारलाई भेटाउन सक्यौं,' मञ्चका सदस्य विनोद कार्कीले भने । उनले उपचारका लागि भारतमा बस्ने नेपालीले २८ हजार ८ सय रुपैयाँ सहयोग गरेको पनि बताए । परिवारसँग सम्पर्कै नगरी २२ वर्षसम्म भारत बस्दै आएका लोकबहादुरलाई अहिले भने पश्चाताप लागेको छ । खुट्टा भाँचिएर अस्पताल भर्ना भएका उनको रेखदेख परिवारले गरिरहेछन् । 'बुद्धि पुगेन, परिवारसँग सम्पर्कै गरिएन,' उनले दुखेसो पोखे, 'अहिले दुःख पर्दा छोरीले नै अस्पतालमा मलाई कुरिरहेकी छ ।'

दाजु पदमबहादुरले भाइ भारत गएको वषौर्ंसम्म घरमा सम्पर्क नगरेपछि गाउँमा मृत्यु भइसकेको हल्ला चलेकाले किरिया गरेको बताए । 'किरिया गरिसकेको भाइलाई जीवत पाउँदा परिवारमा सबै दंग छौं,' उनले भने । लोकबहादुरको खुट्टाको अपरेसनपछि डिस्चार्ज हुन अझै दुई साता लाग्ने अस्पतालले जनाएको छ । भारतीय अस्पतालमा गरिएको अपरेसन विफल भएपछि उनलाई नेपाल फर्काउन चन्दा संकलन गरिएको मञ्चका सदस्य कार्कीले बताए । घाइते लोकबहादुरको आर्थिक अवस्था कमजोर छ । अपरेसन र औषधि खर्चका लागि ५० हजार खर्च लाग्ने अस्पतालले जनाएको छ ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काजकिरिया भइसकेको व्यक्ति २२ वर्षपछि भेटिए"

Leave a reply