|

चलचित्रको पोष्टरबाट मात्र हैन प्रेस विज्ञप्तिमा पनि हमालको नाम अटाएन


मंगलवार काठमाडौंमा चलचित्र ‘ज्यान हाजिर छ’ को पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा नयाँ कलाकारको नाम प्रमुख कलाकार भनेर उल्लेख छ । तर यही सिनेमामा अभिनय गरेका नायक राजेश हमालको नाम कतै पनि देखिएन । चलचित्रको प्रोमो तथा पोष्टरबाट त राजेश हमाल हटे हटे, प्रेस विज्ञप्तिमा पनि हमालको नाम अटाएन ।

नामै नसुनेका नयाँ अनुहारको नाम प्रमुख कलाकारमा आउने तर राजेश हमालको नाम कतै पनि नअटाउनु आफैंमा अचम्मको विषय रहेको थियो । यसबारेमा चलचित्रका निर्देशक बदि्र अधिकारीसँग बुझ्न खोज्दा उनले पुराना अनुहार राख्दा दर्शकले पुरानै सिनेमा रहेछ भन्ने ठानेर सिनेमा हेर्न नआउने भएकाले राजेश हमालको नाम नराखेको बताए । उनले राजेश हमाल मात्र नभई देशभक्त खनाल, सुशील पोखरेल लगायतको नाम पनि नराखिएको बताए ।

‘चलचित्रमा जसको मुख्य भूमिका रहेको छ उसैको नाम राख्ने चलन हुन्छ’ बदि्रले बलिउड र हलिउडको उदाहरण प्रस्तुत गर्दै भने – ‘रोमान्टीक सिनेमामा रोमान्टीक भुमिकामा देखिएका कलाकार नै राख्ने हो, राजेश हमाल अभिभावकको भूमिकामा हुनुहुन्छ यसैले नाम समावेश गरिएन ।’ पुराना अनुहारलाई हेर्दाहेर्दै दर्शक वाक्य भएकाले नयाँ खोजेको बताउँदै निर्देशक अधिकारीले आफ्नो सिनेमामा पनि नयाँलाई स्थान दिएको वताए ।

कुनै समयमा २ मिनेटको भूमिकामा देखिए पनि सिनेमाको पोष्टरका राजेको ठूलो टाउको देखिन्थ्यो । तर अहिले उनी राम्रो भूमिकामा रहेर पनि पोष्टरदेखि प्रोमोमा अटाउन छोडेका छन् । चलचित्र मायाज वारमा खलनायकको भूमिकामा देखिएका हमालको अनुहार न त पोष्टरमा देखिन्छ न त प्रोमोमा । चलचित्र फेसबुकमा पनि राजेश हमाल अटाएका छैनन् । नया अनुहारलाई नै प्रमोशन गरिएको फेसबुकमा हमालको नाम कतै पनि उच्चारण भएको छैन ।

यसरी एकपछि अर्को सिनेमामा राजेश हमाल उपेक्षित हुँदै गईरहेका छन् । राजेशको टाउको भन्दा नयाँ अनुहार बिक्न थालेको निर्माता तथा निर्देशकको भनाई रहेको छ । यसैले पनि उनले अभिनय गरेका सिनेमामा उनको टाउको नराखी नयाँ अनुहारलाई राख्न थालिएको छ । यसले राजेश हमालले आफ्नो भुमिका र गेटअप परिवर्तन गर्नुपर्ने संकेत गरेको छ ।

राजेश हमालले आफूलाई परिवर्तन नगर्ने हो भने अब उनी सिनेमा क्षेत्रबाट बिस्तारै विस्थापन हुनसक्ने खतरा बढेको छ । राजेश हमाल जस्तो चर्चित नायकलाई यसरी सिनेमाबाट उपेक्षा गर्नु आफैंमा दुःखको कुरा भने हो ।
साभार ऑनलाइन खबर

Posted by Butwalonline on 7:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चलचित्रको पोष्टरबाट मात्र हैन प्रेस विज्ञप्तिमा पनि हमालको नाम अटाएन"

Leave a reply