|

दक्षिण कोरियाद्वारा इपिएस सम्झौताको म्याद दुई वर्ष थप

काठमाडौं साउन ४ - सरकार र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली -इपिएस थप दुई वर्षका लागि नवीकरण भएको छ । 

उक्त प्रणालीअन्तर्गत नेपाली कामदारलाई रोजगारीका अवसर दिने कोरिया सरकारको नीतिअनुरुप सन् २०१० मा भएको पछिल्लो सम्झौताको अवधि गत पुसमा समाप्त भएपछि तीन-तीन महिना गरी दुईपटक सोलले उक्त सम्झौताको म्याद थप गरेको थियो ।

गत मङ्गलबार सम्झौताको अवधि सकिएपछि कोरियाले एकैपटक दुईवर्षका लागि सम्झौताको अवधि वृद्धि गरेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताउनुभयो । श्रम सम्झौताको अवधि समाप्त हुनु केही दिनअघि कोरियाली सरकारले त्यसलाई थप दुई वर्षका निम्ति नवीकरण गरेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।

सन् २००७ मा नेपाल र कोरियाबीच पहिलोपटक श्रम सम्झौता भएको थियो । हाल कोरियामा करिब १४ हजार नेपाली कार्यरत छन् । कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्यको रुपमा रहेको तथा अन्य मुलुकको तुलनामा उनीहरूले त्यहाँ आकर्षक पारिश्रमिक र सुविधा प्राप्त गर्दै आएकाले त्यता जान चाहने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष लिइएको कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका झण्डै नौ हजार नेपाली कोरिया जाने तयारीमा रहेका जानकारी दिँदै प्रवक्ता खड्काले चालु आर्थिक वर्षको अन्त्यमा पुनः भाषा परीक्षा सञ्चालन हुने बताउनुभयो । कामप्रति इमानदार, लगनशीलतालगायत गुणका कारण नेपाली श्रमिकलाई कोरियाले प्राथमिकता दिँदै आएको छ । इपिएस प्रणालीको निरन्तरता त्यसैको परिणाम हो । रासस

Posted by Butwalonline on 4:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दक्षिण कोरियाद्वारा इपिएस सम्झौताको म्याद दुई वर्ष थप"

Leave a reply