|

मलाई कथा, पटकथाले बुढो बनाइदियो-विल्सनविक्रम राई


काठमाडौं, साउन ३- तक्मे बुढाको भूमिकामा देखिने विल्सनविक्रम राई २६ वर्षे तन्नेरी हुन्। तर उनलाई बुढो अभिनय खुबै सुहाउँछ। 'मलाई कथा, पटकथाले बुढो बनाइदियो,' राईले भने, 'सुहाउँदो पनि रहेछ।' नेपाल टेलिभिजनमा प्रत्येक शनिबार साँझ आउने 'मेरी बास्सै'मा कथाले मागेको उनको उमेर हो ७० वर्ष |

पूर्वी नेपालका पल्टने संस्कृतिलाई अध्ययन गरी आफु अभिनयमा उत्रेको बताउने विल्सनलाई आजभोलि त्यही बुढो रिटायर्ड आर्मी तक्मेको नाममा धेरैले चिन्छन्। 'कलाकारको खुबी भनौं, धेरै मिहेनतले नै यस्तो अभिनय गर्न सकेँ,' राई भन्छन्।

यही खुबीले उनी एकै हप्तामा पूर्वपश्चिम पुग्छन्। सोमबारै मात्र सिगंपुरबाट फर्केका उनी इलाम जान हतारिए। तर उनको उडान छुटेछ। 'नयाँ फिल्मको काममा अल्भि्कएर फ्लाइटै छुट्यो, मंगलबार बिहान उता नपुगी सुखै छैन,' यसकै लागि दौडादौडमा लागेका विल्सनले भने, 'यसको लागि सोच्दैछु।' बुधबार पुनः काठमाडौं आइपुग्नुपर्ने चटारो छ।

जसरी पनि इलाम पुग्ने उनको धोका पूरा हुनेछ नै। त्यहाँ पनि तन्नेरी विल्सन पुनः तक्मे बुढो बन्ने निश्चित गरे उनले। 'सायद', 'फेसबुक' लगायत फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो समय 'रिदम' फिल्ममा व्यस्त हुने बताउँछन्।

धेरै कलाकार पाका उमेरमा अभिनय गर्न आए, गए तर, जुनसुकै उमेरको भूमिकामा अभिनय देखिए पनि केही कलाकारलाई भने बुढो बन्दै फाइदा परेको छ।

'मेरी बास्सै'का एक निर्देशक माग्ने बुढा(केदार घिमिरे) पनि बढी उमेरकै भूमिकामा देखिन्छन्। र, आफूलाई यो फापिरहेको उनले सुनाए। 'सिरियलमा देखिने उमेर ५५ को हो, आफू भर्खर ३६ वर्ष भएँ,' घिमिरेले भने, 'यही रोलमा फापिरहेको छ मलाई।' अभिनयको भागदौडमा आफू बुढा पात्रमा चिनिएको उनले बताए। 'टिभीमा अनुहार देखाउने रहर थियो, रोल छान्ने क्रममा बुढोको पर्‍यो,' घिमिरे भन्छन्, 'सुहाएकै छ, चलेकै छ भनी छाडिन।'

त्यसो त उनी यसभन्दा अघि मानवअधिकार सम्बन्धी बनेको 'ठिंगाने दमाइ' मा ७५ वर्षेको भूमिकामा देखिएका थिए। कथाले मागेपछि नै धेरैजसो युवा बुढो बन्ने उनको अनुभव छ।

शैली थिएटरको नाट्य मञ्चमा देखिरहने मञ्जु गिरी पनि यसै भनाइलाई सही मान्छिन्। 'मलाई धेरैले वृद्धाको रोल सुहाउँछ भन्छन्,' उनले भनिन्, 'त्यसैले म वृद्धाको रोलमा देखिन्छु।' कलाकार भएपछि जुनसुकै भूमिकामा पनि देखिन सक्ने खुबी हुनुपर्ने बुझाइ छ उनको।

उनी 'म जोकर बन्छु' मा ३५ वर्षे आमाको भूमिकामा थिए। तारो, सुनपानी, बहुलाकाजीको सपना लगायतका नाटकमा अभिनय गरेकी छन् उनले। सुहाँउदो पात्र पाएपछि कलाकार पनि पाका उमेरमा देखिन चाहन्छन् र उनीहरुको अभिनय पनि धेरैले मन पराएका छन्। यसैमा खुसी छन् कलाकार।

कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको 'हर्के हवल्दार' का विष्णु सापकोटा 'लाहुरे बा' बनेका छन्। कथामा उनको उमेर ६५ वर्षको हो। ३० वर्षे सापकोटाको यो भूमिका धेरै वयस्कले मन पराउँछन्। सापकोटा भन्छन्, 'हर्के र लाहुरे बाको दोहोरो भूमिकामा देखिएको छु, बालबालिकाले हर्के मन पराउँदोरहेछ, पाकालाई लाहुरे बा।'

दुवै भूमिकामा फापिरहेको कलाकार सापकोटाले सुनाए। सिरियलका एक कथाकार उनी भन्छन्, 'कलाकारको खुबीलाई दर्शकले बुझिरहेकै छन्, यसमै हामीलाई सन्तोष छ।'
साभार नागरिक न्यूज 

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलाई कथा, पटकथाले बुढो बनाइदियो-विल्सनविक्रम राई"

Leave a reply