नक्कली श्रम स्टिकरको बिगबिगी
नयाँदिल्ली, श्रावण ३ - दुई महिनाअघि एक नेपाली महिला श्रम स्वीकृति स्टिकरबिना संयुक्त अरब इमिरेटस् (यूएई) जान नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । भारतीय प्रहरीले स्टिकरबिना उड्न दिन नमिल्ने भनेर फर्काइदिएपछि त्यसको भोलिपल्टै उनी त्यस्तो स्टिकर टाँसी विमानस्थल पुगिन् ।
एक दिनअघि दिल्लीमै भएको व्यक्तिलाई भोलिपल्टै नेपाली श्रम स्टिकर पासपोर्टमा टाँसेर ल्याउन प्राविधिक रूपमा सम्भव पनि थिएन । भारतीय प्रहरीले शंका लागी नेपाली दूतावासलाई स्टिकर परीक्षणका लागि सम्पर्क गर्यो । त्यस सम्बन्धमा दूतावासले नेपालमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्दा उक्त स्टिकर नक्कली भएको प्रमाणित भयो ।
यो त केवल प्रतिनिधि घटनामात्रै हो । नक्कली स्टिकरको बिगबिगी बढेकैले पछिल्लोपटक नेपाल सरकारले नयाँ खालको स्टिकर लागू गरेको थियो । उक्त व्यवस्थापछि जाली स्टिकरको समस्या तत्काल नदेखिए पनि नयाँ स्टिकरमा समेत कमजोर सुरक्षा विशेषता भएका कारण खतरा भने उत्तिकै रहेको जानकारहरूको भनाइ छ ।
नयाँ स्टिकरको कहानी जाली श्रम स्वीकृति स्टिकरको समस्यासँग जुध्न सरकारले गत जेठ १० गतेदेखि नयाँ स्टिकर लागू गर्यो । त्यसयता व्यक्तिगत र संस्थागत (म्यानपावर एजेन्सी) मार्फत जानेहरूका लागि छुट्टाछुट्टै स्टिकर व्यवस्था गरिएको छ । व्यक्तिगतका लागि नीलो र संस्थागतलाई रातो रंगको स्टिकर दिइने व्यवस्था मिलाइएको छ ।
नयाँ स्टिकरमा कामदारको पेसा, कम्पनीको नामलगायतका जानकारी समेटिएकाले यो पहिलेको भन्दा सुरक्षित भएको जिकिर वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले गरे । पहिलेको स्टिकरभन्दा नयाँ केही ठूलो आकारको समेत बनाइएको छ । यद्यपि नयाँ स्टिकरमा पर्याप्त र मजबुत सुरक्षा विशेषता नभएकाले जाली कागजात बनाउनेहरूले त्यस्तो कमजोरीको फाइदा फेरि लिन सक्ने चिन्ता दूतावासका अधिकारीहरूको छ ।
भट्टराईले भने नयाँ स्टिकरमा सरकारी प्रेसले अधिकतम दिन सक्ने खालको सुरक्षा विशेषता रहेकाले चिन्ता गर्नुपर्ने कारण नरहेको दाबी गरे । क्रमैसँग सुरक्षा विशेषता थप मजबुत बनाउँदै लैजाने योजना रहेको भट्टराईले सुनाए । 'स्टिकरमा बार कोड राख्ने योजना पनि हामीले बनाएका छौं । तर उच्च खर्च जस्ता कारणले यो काम पूरा हुन केही समय भने लाग्नेछ,' उनले काठमाडौंबाट फोनमा भने ।
नयाँ व्यवस्था लागू हुनुअघि दिनहुँ जसो नक्कली स्टिकरको समस्या दूतावासका लागि टाउको दुखाइको विषय हुने गर्थ्यो। 'भेरिफिकेसनका लागि आउने ९९ प्रतिशत जसो श्रम स्टिकर हामीले नक्कली भेटाउँथ्यौं,' कार्यवाहक राजदूत खगनाथ अधिकारीले भने ।
सक्कली हो नक्कली भनेर जाँच्न पनि पहिले दूतावासलाई निकै हम्मे पर्थ्यो । दिल्लीबाट काठमाडौं खबर गरेर स्टिकर जाँच्दा कम्तीमा पनि तीन, चार दिन लाग्थ्यो । यसो गर्दा कहिलेकाहीं स्टिकर सक्कली भएकाहरूले पनि सास्ती भोग्नुपरेको अनुभव कार्यवाहक राजदूत अधिकारीले सुनाए । पछि सक्कली, नक्कली दूतावासले नै जाँच्न सक्ने गरी उसलाई 'एक्सेस कोड' उपलब्ध गराइयो । 'एक्सेस कोड भएपछि भेरिफिकेसनको काम छरितो भएको छ,' दूतावासका एटाचे थानप्रसाद शर्माले भने ।
साभार कांतिपुर
