१५ बर्षदेखि जापानमा जेल जीवन बिताईरहेका नेपाली रिहा हुने
टोक्यो जेठ
२५-एक जापानी महिलाको हत्या अभियोगमा १५ बर्षदेखि जापानमा जेल जीवन बिताईरहेका नेपाली नागरिक गोविन्द मैनाली रिहा हुने भएका छन् ।
केहीवेरअघि टोक्यो उच्च अदालतमा भएको सुनुवाईमा मैनालीका पक्षमा फैसला भएको एनआरएन जापानका पूर्व महासचिव जिज्ञानकुमार थापाले बताउनुभयो । अब उनले धरौटीमा रिहा भई जेल बाहिरै बसेर मुद्दा लडन पाउने भएका छन् ।
सन् १९९७ मा एक यौनकर्मी महिलालाई बालात्कारपछि हत्या गरेको अभियोगमा उनलाई बन्दी बनाइएको थियो । सुरुमा टोक्यो जिल्ला अदालतले उनलाई निर्दोष भनेपनि उच्च अदालतले हत्यामा दोषी ठहर गर्दै आजीवन जेल सजाय फैसला सुनाएको थियो ।
तर, मैनालीले आफु निर्दोष रहेको भन्दै डीएनए परिक्षणको माग गरेका थिए । डीएनए परिक्षणहरुबाट हत्यामा अरुकै संलग्नता पुष्टी भएपछि मुद्दा पुनरावलोकनका लागि मैनालीले निबेदन दिएका थिए ।
निर्दोष मैनालीलाई जेलमा सडाइएको भन्दै जापानमै रहेका अधिकारकर्मी र केही नेपालीहरुको सक्रियतामा मैनालीका पक्षमा कानुनी लडाई लडिएको थियो । मैनालीको सुनुवाई सुन्न उनकी पत्नी राधिका पनि अदालतमा उपस्थीत भएकी थिइन् ।
बिहीबारको फैसलाबाट उनलाई आंशिक न्याय मिलेको भएपनि फैसलाबिरुद्ध सरकारी पक्षबाट पुनराबेदन हुनसक्ने खतरा रहेको एनआरएन जापानका महासचिव डा राजेन्द्र पराजुलीले बताउनुभयो । यसअघिका डीएनए परिक्षणका नतिजा सवै मैनालीका पक्षामा रहेकाले उनले न्याय पाउने सम्भावना बढी छ । दोस्रो बिश्वयुद्धपछि जापानमा पुन सुनुवाइको फैसला भएको यो आठौ मुद्दा हो ।
समाचार ऑनलाइन खबर बाट
