|

युएईले नेपाललाई ४० लाख थान निःशुल्क सिरिन्ज उपलब्ध गराउने

काठमाडौं, जेठ २५ -युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई ४० लाख २० हजार थान सिरिन्ज सहायता दिने भएको छ। विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा युएईले नेपाललाई निःशुल्क सिरिन्ज उपलब्ध गराउन लागेको हो। सिरिन्ज काठमाडौंसम्म ल्याउन लाग्ने खर्चसमेत नेपाल सरकारले व्यहोर्न नपर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ। 
युएईस्थित नेपाली दूतावासका उपनियोग प्रमुख दीपक अधिकारीले टेलिफोनमा जानकारी दिएअनुसार सिरिन्ज युएईबाट काठमाडौं पठाउन सुरु गरिसकिएको छ।
खोप तथा सुईंबाट सर्ने रोग कम गर्ने उद्देश्यले युएईले ठूलो परिमाणमा नेपाललाई सिरिन्ज उपलब्ध गराएको अधिकारीले बताए। एउटै सिरिन्ज एक पटकभन्दा बढी प्रयोग गर्दा एचआइभी/ एड्स, हेपाटाइटिस लगायत रोग एक व्यक्तिबाट अर्कोमा सर्ने खतरा हुन्छ। एउटा सिरिन्ज एकपटक मात्र प्रयोग होस् भनेर युएईले सिरिन्ज सहयोग दिन लागेको हो।
विश्व स्वास्थ्य संगठनले नेपाल र तान्जानियालाई सिरिन्ज दिन सिफारिस गरेको थियो। त्यसपछि युएईले नेपाललाई ४० लाख २० हजार र तान्जानियालाई २० लाख सिरिन्ज दिन लागेको हो। नेपाल पठाइएका सबै सिरिन्ज 'अटो डिस्एवल्ड' (एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नसकिने) खालका छन्।
'सरुवा रोगका संक्रमित नबढून् भनेर सिरिन्ज दिएको युएइले जनाएको छ,' उपनियोग प्रमुख अधिकारीले भने, 'सर्वसाधारणले सुरक्षित उपचार पाऊन् भन्ने उद्देश्य हो।'
नेपाल पठाइने सिरिन्जको तौल ३० टन हुने युएईस्थित नेपाली दूतावासले जनाएको छ। इत्तेहाद एयरवेज, म्याक्सिमस एयर, आरमेक्स र अबुदुबई एयरपोर्ट कम्पनीले सिरिन्ज कार्गोमार्फत् नेपाल निःशुल्क ल्याइदिने जिम्मेवारी लिएका छन्।
युएईका स्वास्थ्य मन्त्री अमिन अल अमिरीले एक कार्यक्रम आयोजना गरी नेपाललाई सिरिन्ज सहयोग दिने घोषणा गरेका थिए। त्यसलगत्तै सिरिन्ज काठमाडौं पठाउने कार्य सुरु गरिएको थियो। ती सिरिन्ज सन् २०१२ भित्र नेपाल पठाइसक्ने युएईले जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष असुरक्षित खोप तथा सुईंबाट २ करोड १० लाख हेपाटाइटिस बी, २० लाख हेपाटाइटिस सी र २ लाख ६० हजार एआईभी/एड्सबाट प्रभावित हुने गरेका छन्। विकासोन्मुख देशमा वर्षेनी प्रयोग हुने १६ अर्ब सिरिन्ज मध्ये ७० प्रतिशत पुनःप्रयोग गरिन्छ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईले नेपाललाई ४० लाख थान निःशुल्क सिरिन्ज उपलब्ध गराउने"

Leave a reply