कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताको फाइनल खेल सोमबार
छात्रतर्फ सैनिक, नेपाल आदर्श, छात्रातर्फ गण्डकी र टप्स फाइनलम प्रवेश
प्रेमनारायण न्यौपाने,पोखरा, ९ असार।छात्रतर्फ सैनिक र नेपाल आदर्श तथा छात्रातर्फ गण्डकी र टप्स उमावि पोखरामा जारी कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताअन्तर्गत छात्रछात्रातर्फको फाइनलमा प्रवेश गरेका छन्।
छात्रछात्रा दुवैतर्फका फाइनलिस्ट टीम अघिल्लो संस्करणका दोहोरिएका हुन्।शनिबार पोखरा रड्डगशालामा भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा देव गुरुङको चार गोलको मद्दतमा सैनिक आवासीय महाविद्यालयले मेरीगोल्ड बोर्डिङ स्कुललाई ४–० ले पराजित गर्यो।दोस्रो खेलमा नेपाल आदर्श उमाविले गण्डकी उमाविलाई १–० ले पराजित गर्यो। नेपाल आदर्शका लागि राहुल सापकोटाले निर्णायक गोल गरेका थिए।
छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी उमाविले शान्तिनिकुञ्ज बोर्डिङ स्कुललाई २–० ले पराजित गर्यो। गण्डकीका लागि बबिता थापा र दीक्षा पौडेलेले एक–एक गोल गरेका थिए।दोस्रो खेलमा टप्स उमाविले लिटिल स्टेप उमाविलाई ४–० ले पराजित गर्यो। टप्सको जीतमा विमला चौधरीले ह्याट्रिक तथा कृष्णा चौधरीले एक गोल गरेकी थिइन्।सोमबार दिउासो एक बजे छात्रातर्फको तथा दुई बजे छात्रतर्फको फाइनल खेल हुने कास्की जिल्ला फुटबल सङ्घका सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए।