|

६ वर्षे अबोध छोरीलाई बनाइन आमाले लागूऔषध कारोबारको माध्यम

काठमाडौ, जेष्ठ २४ - आपराधिक मनोवृत्तिले कतिसम्म गिराउँछ भन्ने लागूऔषध कारोबारको एक नयाँ घटनाले दर्साएको छ । भारत घर बताउने पर्साकी एक महिलाले आफ्नै ६ वर्षे अबोध छोरीलाई लागूऔषध कारोबारको माध्यम बनाएकी छन् । गीतादेवी पटेलले छोरीलाई हर्लिक्सको सिसी बोकाइन् र त्यसमा ६ सय १४ ग्राम खैरो हेरोइन राखिन् ।
सुराकीका आधारमा लागूऔषध कानुन कार्यान्वयन इकाईले पटेललाई पक्राउ गरेपछि यस्तो रहस्य खुल्यो । इकाईका डीआईजी यादव अधिकारीले 'छोरीलाई  लागूऔषध बोकाएर ओसार पसार हुन्छ भन्ने खबर'का आधारमा लामो अनुसन्धानपछि उनलाई पक्रेको बताए । सुरुमा यस्ता सुचना आउँदा प्रहरीले पत्याएको थिएन । 'मान्छे हेर्दा त्यसरी सधैं ओसारपसार गर्ने जस्तो थिएन, फाट्न लागेका कपडा, धेरै दिनदेखि ननुहाएको शरीरलाई देखेर प्रहरीले विश्वास गरेका थिएनन् । तर विशेष सुराकीले दिएको सूचना र प्रहरीले फिँजाएको जालमा ती महिला आफै परेपछि यो रहस्य खुलेको थियो ।
प्रहरीले पटेल जसलाई लागूऔषध दिन अाएकी थिइन्, त्यही व्यक्तिलाई पहिले नै नियन्त्रणमा राखेको थियो । त्यो व्यक्तिलाई सूचना दिएको भनेर प्रहरीले छाडिदियो । लागूऔषधमा सूचना दिने सानोतिनो कारोबारीलाई पक्राउ गरिँदैन । इकाईका अनुसार यिनी ३ वर्षदेखि लागू औषध ओसार- पसारको काममा संलग्न छिन् । भारतको रक्सौलका सञ्जय नामका कारोबारीले ओसारपसारमा लगाएको उनले बताइन् ।
सञ्जयले दिएको लागूअाैषध यिनले छोरीलाई बोक्न दिने र आफू २० मिटर पछि आउने गरेकी थिई्न । वीरगन्जबाट बोकेर ल्याएको लागूऔषध काठमाडौं, हेटौंडा, पोखरा, चितवन लगायतका क्षेत्रमा पुर्‍याउने गरेको प्रहरीले जनाएको छ । पटेलले छोरीलाई सामान बोकाएर हिँड्दा शंका नहुने भएकाले बोकाएको बताइन् । उनलाई एक पल्ट सामान पुर्‍याए बापत ५ हजार रुपैयाँ दिने गरेको थियो ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 7:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "६ वर्षे अबोध छोरीलाई बनाइन आमाले लागूऔषध कारोबारको माध्यम"

Leave a reply