|

प्रवेशिका परीक्षामा फेल भएका सात किशोरीद्वारा आत्महत्या

काठमाडौं, असार १ - प्रवेशिका परीक्षामा फेल भएका सात किशोरीले आत्महत्या गरेका छन्। काठमाडौंमा दुई, बाहिरका पाँचले आत्महत्या गरेका छन्। विष खाएकी एक परीक्षार्थी उपचाररत छिन्। पाँचले झुन्डिएर, दुईले विष खाएर आत्महत्या गरेका हुन्।

 कीर्तिपुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परिन्। रामेछाप खाँडदेवीकी उनी काठमाडौंमा दाजुसँग बस्दै आएकी थिइन्। बिहीबार नतिजा हेरेकी उनी असफल भएपछि सिलिङफ्यानमा झुन्डिएकी थिइन्। बिहान १० बजे उनको शव फेला परेको थियो।

 काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसी र सबला बानियाँ बिहीबार विष खाएर अशक्त अवस्थामा फेला परेका थिए। महादेवस्थान गाविसका दुवैलाई परिवारले समाज अस्पताल पुर्‍याएका थिए। चिन्ताजनक अवस्थामा रहेकी रुविनालाई अस्पतालले थप उपचारका लागी स्टार अस्पताल रिफर गरे पनि बाटैमा मृत्यु भयो। सबला भने समाज अस्पतालमै उपचाररत छिन्।

 धादिङ ज्यामरुङकी १७ वर्षीया रेश्मा कँडेल अध्ययनमा राम्रो भएकीले विद्यालय र उनको परिवार प्रथम श्रेणी आउनेमा ढुक्क थियो तर उनी असफल भइन्। रानीपौवा उच्च माविबाट परीक्षा दिएकी कँडेल बिहीबार बिहान धुरिबलोमा झुन्डिएर मृत भेटिइन्।

 प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाहिरका विराटनगर, नेपालगन्ज र पाल्पामा समेत अप्रिय घटना भएका छन्। विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्। पाल्पा छहाराकी १६ वर्षीया सरिताको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले छहाराको भैरवनवदीप उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन्। परीक्षामा असफल भएपछि उनी निराश थिइन्।

 नेपालगन्ज गोसाइँगाउँकी प्रतीक्षा शर्माले झुन्डिएर आत्महत्या गरेकी थिइन्। नारायणी उच्च माविबाट परीक्षा दिएकी उनी झुन्डिएको अवस्थामा घरमा फेला परेपछि उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्‍याए पनि अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको थियो। विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन्। बेहोस अवस्थामा फेला परेकी उनलाई कोसी अञ्चल अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याउनुअगाडि नै उनको मृत्यु भएको थियो। जनकपुर- ८ की १६ वर्षीया सेखाकुमारी सिंह घरमा पासो लगाएर झुन्डिएको अवस्थामा बिहान आठ बजे मृत फेला परेकी थिइन्। सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेकी उनलाई जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

 मनोविश्लेषक डा. गंगा पाठकले परीक्षाको नतिजा प्रकाशित भएपछि भइरहेका आत्महत्याले शिक्षा प्रणाली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। एसएलसी परीक्षामा सफललाई बढी महत्व दिँदा असफल हुनेहरु निराश भएर गलत बाटो रोज्ने गरेको उनको विश्लेषण छ। 'पुरुषको तुलनामा महिला धेरै इमोसनल हुने हुँदा यस्ता दुघर्टना हुन्छन्,' उनले भनिन्, 'छोराको तुलनामा छोरीलाई परिवारले पनि बढी दबाब दिँदा यस्ता दुघर्टना निम्तिरहेका छन्।'
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 8:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवेशिका परीक्षामा फेल भएका सात किशोरीद्वारा आत्महत्या"

Leave a reply