कुनै चमत्कार नहुने हो भने संविधान बन्ने सम्भावना छैन-उपेन्द्र यादव
काठमाडौं
जेठ १४-बिहानदेखि बालुवाटारमा छलफलमा जुटेका शीर्ष नेताहरु अब छलफलको लागि बानेश्वर पुग्दैछन् ।
संविधानसभा भवनमा नै बैठक बस्न र संविधानसभाको बैठक सुरु गर्न माग गर्दै सभाससदहरुले नारावाजी गरेपछि बालुवाटारको बैठक नयाँबानेश्वरमा बस्न लागेको हो । शीर्ष बैठकअघि अहिले मस्यौदा लेखनबारे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग जानकारी लिन नेताहरु सिंहदरवारमा पुगेका छन् ।
नेताहरुका अनुसार प्रमुख दलबीच पहिचानसहितको मिश्रित नाममा सहमति नजिक पुगेका छन् । माओवादी, मधेसी र जनजातिले एकल पहिचानको अडान नछाड्ने र कांग्रेस-एमालेले स्वीकार नगर्ने अडान नछाडेपछि मध्यमार्गी प्रस्तावका रुपमा मिश्रति पहिचासहितको प्रदेश निर्माणको पहल सुरु भएको हो । एकल जातीय पहिचानको पक्षमा रहेका आदिवासी जनजाति सभासदहरुको समूह ककसले पनि पहिचानसहितको मिश्रित नाममा सहमति जनाएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि ककसका संयोजक पृथ्वीसुब्बा गुरुङले भन्नुभयो -’पहिचानलाई भताभुंग पार्न भएन तर मिश्रति नाम राख्न सकिन्छ ।’ मिश्रित नामाकरण गर्दा हाल तमुवान प्रस्ताव गरिएको प्रदेशको नाम तमुवान-गण्डक प्रदेश हुनसक्छ ।
श्रोतका अनुसार नाममा सहमत दलहरुबीच कति बटा प्रदेश बनाउने भन्नेबारे भने सहमति हुन सकेको छैन । दलहरुबीच १० देखि १४ प्रदेश बनाउनेबारे छलफलमा छन् ।
छलफलपछि बालुवाटारबाट बाहिरिएका फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै चमत्कार नहुने हो भने संविधान बन्ने सम्भावना नरहेको बताउनु भयो । कांग्रेस र एमालेले संघीयता विनाकै संविधान जारी गर्न दबाव दिएकाले सहमति नजुटेको उहाँले बताउनु भयो ।
समाचार ऑनलाइन खबर बाट