आदिबासी जनाजातिद्वारा आज संविधानसभा भवनमा घेराउ
काठमाण्डौं,जेठ १३-सरकारले जेठ १४ भित्रै जातीय पहिचान सहितको संघीयता र संघीयतासहितको नयाँ संविधान ल्याउन माग गर्दै आदिबासीहरुले १३ र १४ गते देशव्यापी आमसभा तथा धर्ना कार्यक्रम गर्ने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सोको जानकारी गराईएको हो ।
सो अवसरमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका सचिवालय सदस्य पर्शुराम तामाङले आफूहरु र सरकार बीच भएको नौं वुदे सहमति अनुरुप जेठ १४ भित्रै जातीय पहिचान सहितको संघीयता र संघीयतासहितको नयां संविधान घोषणा गर्नुपर्ने बताए ।
सरकारले आफूहरुको मागलाई सम्बोधन गरे १५ गते हर्षोल्लास मनाउने र बेवास्ता गर्दै आफ्ना माग रुपान्तरित संसदमा लैजाने भए त्यो अमान्य हुने र नयां संविधान बहिष्कारका साथै जलाउनेसम्मको चेतावनी दिए । नेताहरु संविधान सभाभित्र छिरेपछि संविधान जारी नगरीकन बाहिर ननिस्किन समेत आग्रह गरेका छन् ।
एमाले र कांग्रेसले जातीय पहिचानको विनाको संविधान ल्याउने कुरामा जोड दिएकोले पनि त्यसको प्रतिकार स्वरुप यो कार्यक्रम गर्न लागेको जनाइएको छ । कार्यक्रम शान्तिपूर्वक हुने समेत सो अवसरमा जानकारी गराईएको छ ।
कार्यक्रम अनुसार शुक्रबार बिहान ११ बजेदेखि उपत्यकाभित्र संविधानसभा घेराउको कार्यक्रम रहेको र कार्यक्रममा बानेश्वरस्थित संविधान सभाको उत्तरपट्टीबाट शेर्पा ,भोटे र लामाले घेर्ने छन् । यस्तै मिनभवन ट्रली बसको चोकतिरबाट तामाङ, राई र लिम्बुले घेर्ने तथा कृष्णटावर अगाडीबाट नेवार , मगर र गुरुङ रहनेछन भने शंखमूलतिरबाट थारु, आदिवासी जनजाति महिला महासंघ र अल्पसंख्यक जातिहरु रहने जनाएको छ । उपत्यका बाहिर ७५ वटै जिल्लामा भने जनप्रदर्शन र आमसभा हुने जनाएको छ ।
समाचार कांतिपुर बाट