राजतन्त्रको माग गर्ने बन्दकर्तामाथि आक्रमण, दुई घाइते
पाँचथर, जेठ ६ - संघीयताको विरोध र संवैधानिक राजतन्त्रको माग गर्दै आमहड्ताल घोषणा गरेर आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्तामाथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्वुवान राज्य परिषदका कार्यकर्ताले आक्रमण गरी दुई जनालाई घाइते बनाएका छन्।
फिदिम बजारमा बन्द गराएर कोषसभा गर्ने तयारी भइरहेका बेला परिषद् अध्यक्ष लावाहाङ्ग चेम्जोङ्गसहित २० जना जतिको टोलीले राप्रपा नेपालका कार्यकर्तामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट राप्रपा नेपालका जिल्ला सदस्य मदन पोख्रेल र कार्यकर्ता टिकाराम बर्देवा घाइते भएको जिल्ला सहसचिव राजकुमार जोशीले जानकारी दिए। आक्रमणकर्ताले राप्रपा नेपालको झण्डा च्यातेका छन् भने माइक पनि खोसिदिएका थिए।
कुटपीटबाट पोख्रेलको ढाड र टाउँकोमा चोट लागेको राप्रपा नेपालले जनाएको छ। चेम्जोङले संघीयताको विरोध गर्नेलाई बिथोल्ने परिषदको निर्णय भएकाले आफूहरुले त्यो कार्यक्रम बिथोलेको बताए।
समाचार नागरिक न्यूज बाट