|

मरणासन्न हुनेगरी यातना दिएर श्रीमान् फरार


काठमाडौं, वैशाख ७ - मरणासन्न हुनेगरी यातना दिएर श्रीमान् फरार भएपछि प्युठान ओखरकोटकी निर्मला महतराको अवस्था चिन्ताजनक छ । खर्च नभएर उपचार गराउन नसकेकी महतरालाई महिला आयोग र पूर्वमन्त्री उर्मिला अर्यालको पहलमा बुधबार काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ ।
४३ वर्षे श्रीमान् हेरबहादुर महतराले राति सुतिरहेको अवस्थामा पाँच छोराछोरीकी आमा निर्मलालाई मुखमा कपडा कोचेर कुटेका हुन् । श्रीमान्ले कम्मरमुनिको भागमा जथाभावी यातना दिएपछि पाठेघरको पूरा भाग बाहिर निस्किएर अत्यधिक रक्तश्राव भएको उनले बताइन् ।
उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । गत चैत २४ गते राति  कुटाइबाट श्रीमती मूच्र्छा परेपछि फरार भएका पीडकलाई अझै प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । घटना भएको भोलिपल्टै पीडितलाई बुटवल अञ्चल अस्पताल लगिएको थियो । अञ्चल अस्पतालले पूरै पाठेघर बाहिर निस्केको र शल्यक्रिया गर्नुपर्ने भएकाले आफूले नसक्ने भन्दै वीर अस्पताल लान सल्लाह दियो । 'काठमाडौं ल्याउने खर्च नभएर घरै फर्काएर लगें,' पीडितसँगै बुधबार बिहान काठमाडौं आइपुगेका १६ वर्षे छोरा भरतले भने, 'सीडीओले गाडी भाडा र उपचार खर्च दिएपछि यहाँको अस्पताल ल्याइएको हो ।'
खर्च नभएर काठमाडौं ल्याउन नसकेको खबर दुई दिनअघि सुनेपछि पूर्वस्थानीय विकासमन्त्री उर्मिला अर्यालले प्युठानका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीसँग पीडितलाई काठमाडौं पठाउने व्यवस्था गर्न पहल गरेकी हुन् । 'प्रहरी नायब उपरीक्षक (डीएसपी) र सीडीओलाई तारन्तार फोन गरेर यातायात खर्च जुटाइदिन भनेकी हुँ,' पीडितलाई भर्ना गर्न बुधबार बिहान वीर अस्पताल आएकी अर्यालले भनिन्, 'उनीहरूले चन्दा उठाएर दस हजार रुपैयाँ संकलन गरी मंगलबार साँझ गाडी चढाइदिएका हुन् ।' खर्च नभएर घरै फर्काउनुपरेकाले उपचारका लागि वीर अस्पताल ल्याउन ढिलाइ भएको उनले बताइन् । 'घटना हुनेबित्तिकै थाहा पाएको भए तुरुन्त ल्याउने व्यवस्था गर्ने थिएँ ।' घटना पछि फरार हेरबहादुरलाई पत्ता लगाउन प्रहरी प्रश्ाासनलाई भनिरहेको उनले जानकारी दिइन् ।
पीडितलाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउन पहल गर्दै महिला आयोगकी अध्यक्ष शेष चाँदतारा पनि बुधबार बिहान वीर अस्पताल आइपुगेकी थिइन् । 'अस्पतालले निःशुल्क उपचार नगराए महिला आयोगले उपचार गराउनेछ,' उनले भनिन् ।
श्रीमान् हेरबहादुरको अरूसँग अनैतिक सम्बन्ध रहेकाले आफूलाई मार्ने उद्देश्यले पिटेको पीडितले आरोप लगाएकी छन् । घरमा पटक/पटक युवतीहरू लिएर आउने गरेको उनले बताइन् । 'केही समयअघि एक युवतीलाई ल्याएर एक महिना घरैमा राख्यो, मैले त्यो केटीलाई फकाएर घरबाट भगाइदिएँ,' उनले भनिन्, 'त्यसैबेलादेखि बिनाकारण मलाई पिट्ने गथ्र्यो ।'
'घटना भएको राति म सुतिरहेकी थिएँ । १२ बजेतिर एक्कासि उठेर सपनामा चार पाँचजना महिलाले मलाई घेरे तैले देखिनस् भन्दै मलाई पिटेको हो ।'
वीर अस्पतालका निर्देशक बुलन्द थापाका अनुसार पीडितको उपचार भइरहेको छ । पाठेघरको मात्र होइन शल्यक्रियासम्बन्धी पनि समस्या देखिएकाले विभिन्न अनुसन्धानका लागि हाल शल्यक्रिया वार्डमा राखिएको छ ।
समाचार :कान्तिपुर दैनिक बाट 

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मरणासन्न हुनेगरी यातना दिएर श्रीमान् फरार"

Leave a reply