|

बौद्ध सम्मेलन हङकङमा, बुद्धको अवशेष प्रदर्शन गरिने

पूर्ण बस्नेत,हङकङ, चैत २०- चीनले पहिलो पटक आफ्नो विशेष प्रशासनिक क्षेत्र हङकङमा विश्व बौद्ध सम्मेलन आयोजना गर्ने भएको छ। १३ वैशाखदेखि हुने तीन दिने विश्व बौद्ध सम्मेलनको क्रममा दुई वर्षअघि पूर्वी चीनमा उत्खनन गरिएको शाक्यमुनि बुद्धको खप्परको अवशेष प्रदर्शन गरिने कार्यक्रमसमेत छ। 


बुद्धिष्ट एसोसिएसन अफ चाइना र चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनले हङकङ बुद्धिष्ट एसोसिएसनसँग मिलेर सम्मेलन आयोजना गरेका हुन्। १९९७ मा चीनको विशेष प्रशासनिक क्षेत्र बनेयता हङकङमा हुन लागेको यो स्तरको अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रम पहिलो हो। आयोजकका अनुसार नेपाल, दक्षिण कोरिया, जापान, भारत, थाइल्याण्ड, अमेरिकालगायत् ५० राष्ट्रका हजारभन्दा बढी बौद्धमार्गी, अध्येता र विज्ञ सम्मेलनमा सहभागी हुनेछन्। 

बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष तथा चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्स (सपिपिसिसि) का सदस्य स्वये चेङका अनुसार तेस्रो विश्व बौद्ध सम्मेलनकै क्रममा १३ वैशाखदेखि पाँच दिनसम्म शाक्यमुनि बुद्धको खप्परको अवशेष हङकङमा प्रदर्शन गरिनेछ। चीनको जियाङसु प्रान्तको नानजिङस्थित बाओन गुम्बामा २०१० जुनमा अप्रत्यासितरुपमा उत्खनन् गरिएको बुद्धको अवशेष हङकङमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो। 

चेङका अनुसार निकै दुर्लभ मानिएको बुद्धको अवशेष निजी जेट विमानमा राखेर हङकङ ल्याउने र प्रदर्शनमा राखुन्जेल बौद्ध भिक्षुहरूले सुरक्षा दिने कार्यक्रम छ। यसअघि चीनबाट १९९९ मा बुद्धको दाँत र २००४ मा शरीरको अवशेष हङकङ ल्याएर प्रदर्शन गरिएको थियो। 

मुख्य भूमि चीनसँग हङकङको सांस्कृतिक निकटता रहेको जनाउँदै चेङले दशौँ हजारले बुद्धको अवशेष हेर्ने अनुमान गरे। हङकङ बुद्धिष्ट एसोसिएसनका अध्यक्ष भेन कोक कोङले दुवै अवसर हङकङका बुद्धिष्टहरूका लागि गौरवको विषय भएको बताए। हङकङका करिब सत्तरी लाख जनसङ्ख्यामध्ये दश प्रतिशत बुद्धिष्ट छन् भने सहरमा छ सय बौद्ध गुम्बा छन्। 

पूर्वी चीनको हान्झाओमा २००६ मा पहिलो विश्व बौद्ध सम्मेलन गरेर बुद्ध राजनीतिमा प्रवेश गरेको चीनले हङकङमा गर्न लागेको सम्मेलन तेस्रो हो। २००९ मा पूर्वी चीनको उसीमा आयोजना गरिएको दोस्रो विश्व बौद्ध सम्मेलनमा बेइजिङले दलाई लामालाई किनारा लगाउने प्रयासअन्तर्गत एघारौँ पञ्चेन लामालाई प्रस्तुत गरेको थियो। विश्वका करिब एक अर्ब बौद्धमार्गीमध्ये आधा चीनमा रहेको अनुमान छ।  

'विश्व समुदाय खासगरी पश्चिमाहरु चीनको आर्थिक विकासबारे जान्दछन् तर यहाँको सांस्कृतिक पक्ष बुझ्दैनन्', चीनको सरकारी अङ्ग्रेजी पत्रिका चाइना डेलीले चेङलाई उद्धृत गर्दै लेखेको छ- बुद्धिजम चिनिया संस्कृतिको एक महत्वपूर्ण पक्ष हो, जसले विश्वमा चिनिया संस्कृति विस्तार गर्ने उद्देश्य पूरा गर्छ।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 2:48 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बौद्ध सम्मेलन हङकङमा, बुद्धको अवशेष प्रदर्शन गरिने"

Leave a reply