संविधानसभा भवन अगाडि प्रधानमन्त्रीले कुचो लगाए
काठमाडौँ, चैत २४- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा भवन नयाँ बानेश्वरअगाडि पाँच मिनेट कुचो लगाएर राष्ट्रिय स्वयंसेवा अभियान २०६८ को आज उदघाटन गरेका छन्। आजदेखि चैत ३० गतेसम्म चल्ने अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा सरसफाइ गरिने छ।
सरसफाइ कार्यक्रममा स्थानीय विकासमन्त्री, प्रधानमन्त्रीकी धर्मपत्नी, मुख्यसचिव लगायत सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।
सरसफाइ कार्यक्रमअघि सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो काम आफै गर्ने परम्पराको सुरुआतस्वरूप अभियान सञ्चालन गरिएको बताए। उनले यसले नेपालीमा स्वयम्सेवाको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले समृद्ध नेपाल र नयाँ नेपालसँगै सफा नेपाल नेपाल निर्माणमा पनि लाग्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न र अभियानमा सहभागी हुन सबैसँग अपिल गरे।
स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले सन्देशमूलक र चेतनामूलक कार्यक्रमका रूपमा अभियान ल्याइएको जानकारी दिँदै यसलाई निरन्तरता दिइने बताए। रासस
