दृष्टिविहीनका लागि एनभीडीए सुबिधायुक्त साइबर
पोखरा, वैशाख २ - कम्प्युटर खोलेर केही चलाउनासाथ संसारभरको जानकारी मात्र हैन, कुराकानी पनि सजिलै गर्न सकिन्छ । तर यो प्रविधिको प्रयोग गर्न सहज छैन दृष्टिविहीनलाई । कम्युनिकेसन वा साइबर जहाँ छिरे पनि अर्को सहयोगी चाहिन्छ । कम्प्युटर जानेका दृष्टिविहीनलाई पनि सहयोगीले खोलेर फाइल ठिक्क पारेपछि मात्र टाइप गर्न सक्छन् । त्यस्तै इमेल खोल्न, रिप्लाई गर्न पनि सहयोगी चाहिन्छ उनीहरूलाई । सहरमा खुलेका अधिकांश साइबर र कम्युनिकेसन्स दृष्टिविहीनलाई प्रयोग गर्न सहज छैन । यही समस्याबाट मुक्ति पाउन दृष्टिविहीन आफैंले साइबर खोले ।
यहाँको केआईसिं पुलमा खुलेको साइबरमा छिरेपछि दृष्टिविहीन आफैंले कम्प्युटरको कामका साथै इमेल, इन्टरनेटमा खबर आदानप्रदान र कुराकानी गर्न सक्छन् । यसका लागि आइसी साइबर नयाँ वर्षको उपलक्ष्यमा शुक्रबारदेखि सञ्चालनमा आएको हो । दृष्टिविहीनको संस्था समावेशी सशक्तीकरण केन्द्रले साइबर सञ्चालनमा ल्याएको छ ।
प्रविधिमा दृष्टिविहीनको पहुँच बढाउन साइबर चलाएको आइसीका महासचिव खोमराज शर्माले बताए । 'बल्लबल्ल सोध्दै गएर साइबर छिरे पनि सहयोगीको अभावमा चलाउनै नपाइने समस्याबाट दृष्टिविहीन हैरान भएपछि आफैंले खोलियो,' शर्माले
भने । यो दृष्टिविहीनको प्रयोगका लागि मात्र नभई सबैका लागि खोलिएको व्यावसायिक साइबर हो । 'दृष्टिविहीनले चलाउन मिल्ने सफ्टवेयर छ । अरूले पनि चलाउन सक्छन्,' शर्माले भने, 'यो संस्थाको आम्दानीका लागि पनि खोलिएको हो ।' यसबाट दृष्टिविहीनलाई प्रविधिको अवसर मिलेको छ भने संस्थालाई दिगो रूपमा चलाउने उपाय भएको उनले बताए । साइबरमा दृष्टि भएका अन्य ३ अपांगले रोजगारी पाएका छन् । साइबरको आम्दानी दृष्टिविहीनका लागि प्रविधि विकासमै खर्च गरिनेछ ।
चेन्जफ्युजन नेपालको सहयोगमा आइसीले साइबर चलाएको हो । चेन्जफ्युजनले यो परियोजनाका लागि दी एसिया फाउन्डेसनको गिभ टु एसियाबाट रकम ल्याएर प्रदान गरेको छ । ९ वटा कम्प्युटर राखिएको साइबरमा एनभीडीए नन भिजुअल डेस्कटप एक्सेस सफ्टवेयर राखेर दृष्टिविहीनका लागि प्रयोग गर्न मिल्ने बनाएको छ । यो सफ्टवेयरमा टाइप गरिएको शब्द वा चलाएको कि को आवाज पनि आउने भएकाले दृष्टिविहीनका लागि उपयोगी हुन्छ ।
दृष्टिविहीनको यस्तो व्यावसायिक साइबर नेपालमै पहिलो भएको यस क्षेत्रमा काम गरिरहेका अगुवाले बताए । अहिलेसम्म काठमाडौंको अनामनगरमा एनभीडीए भएको एक साइबर भए पनि त्यो दृष्टिविहीनले मात्र व्यवस्थापन गरेको नभई तालिम केन्द्रका रूपमा मात्र रहेको छ ।
अहिले २ लाख ५० हजार रुपैयाँमा यो साइबर सुरुवात गरिएको हो । नयाँ वर्षको पहिलो दिन लायन्स क्लब अफ ३२५ बी नेपालका भाइस डिस्टि्रक गभर्नर दीपक श्रेष्ठले साइबरको उद्घाटन गरे । सामाजिक काम गरिरहेकालाई व्यावसायिक बनाउने कार्य गर्दै आएको चेन्जफ्युजनले दृष्टिविहीनको क्षेत्रका अगुवालाई यो सोच दिएको हो ।
साभार :कांतिपुर

