विमानस्थलमा कार्गोको काम भनेर मरुभूमिको भन्सारमा
काठमाडौं, वैशाख १० - सम्झौता अनुसार भइदिएको भए उनी यतिखेर साउदी अरबको रियाद विमानस्थलमा कार्गोको सामान ओसारपसार गरिरहेको हुन्थे । काम सुरु गरेकोप्रति खुसी हुँदै परिवारलाई आउँदो महिनादेखि पैसा पठाउने आश्वासन दिइरहेका हुन्थे ।
तर परिस्थिति उल्टो भइदियो । पुग्न पाएको छैन, र्फकनुपर्ने बाध्यता सुनाउन झापाका रमेशकुमार गुरुङलाई निकै गार्हो परिरहेको छ । काम, कम्पनी र ठाउँ नै फरक परेपछि उनी निकै आत्तिएका छन् । 'रियाद विमानस्थलमा कार्गोको काम गर्न भनेर म्यानपावर कम्पनीसँग सम्झौता गरेर आएको थिएँ,' उनले फोनमा दुखेसो पोखे, 'आखिर काम विमानस्थलमा होइन रहेछ । एउटा अनकन्टार मरुभूमिमा ट्रकको लोडअनलोड गर्नुपर्ने रहेछ ।'
यसरी झुक्याएर त्यहाँ पुर्याइएका २२ जना नेपाली कामदार वास्तविकता थाहा पाएपछि अन्योलमा छन् । उनीहरूलाई रियादबाट करिब दुई हजार किलोमिटर टाढा जोर्डनको बोर्डर नजिक ताबुकमा पुर्याइएको छ । 'हामीलाई राखिएको स्थानमा मरुभूमि मात्रै छ । जता हरे पनि मरुभूमिबाहेक केही देख्दैनौं,' उनले भने, 'दुईवटा पुराना भत्किएका घरमा हामी बसेका छौं ।'
त्यहाँ अरू ४० जना भारतीय, पाकिस्तानी र श्रीलंकाली छन् । 'जो तीन महिनाको तलब नपाएपछि सातादेखि काममा गएका रहेनछ,' अर्का नेपाली सुरजबहादुर तामाङले भने ।
उनीहरू काठमाडौं सिनामंगलस्थित जुपिटर ओभरसिजलाई ९५ हजार रुपैयाँ तिरेर गएका थिए । अल्सेफ कम्पनीका लागि भनेर वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिइए पनि सामीश्री कम्पनीमा पठाइएको उनले बताए ।
त्यस कम्पनीले जोर्डन र साउदी बोर्डरस्थित एक भन्सारमा ट्रक, लहरीमा आउने सामानलाई लोड अनलोड गर्ने अर्का पीडित मोहनप्रसाद दर्जीले बताए । भनेको काम र सेवासुविधा नभएपछि उनीहरूले काम गरेका छैनन् । '८ सय तलब, त्यसमा ओभरटाइम र सातामा एकदिन बिदा पाउने सम्झौता भएको थियो,' पीडितमध्येका विष्णु तामाङले भने, 'यहाँ पाउने त ६ सय रियाल र टिप्स मात्रै रहेछ । समयको हिसाबकिताबै छैन ।' २० जना एउटा कोठामा बसिरहेको र खानाको समेत समस्या भएको उनीहरूले बताए । 'ग्यास र खाद्यान्न आफैंले जोहो गर्नुपर्छ,' भीमबहादुर थापाको स्वर थपियो, 'अहिले श्रीलंकालीको भाडाबर्तन, ग्यास र खाद्यान्न प्रयोग गरिरहेका छौं । उनीहरूले पनि लामो समयसम्म सहयोग गर्नेवाला छैनन् । हामीलाई व्यवस्था गर भनिसकेका छन् । त्यसका लागि हामीसँग पैसा पनि छैन ।'
उनीहरू सबै आफूहरूलाई झुक्याइएकोमा म्यानपावरप्रति आक्रोशित छन् । 'झक्काएर ल्याइएको हुनाले हाम्रो उद्धार हुनुपर्यो,' उनीहरूले भने, 'यस्तो काम गर्न ९५ हजार तिरेर आएको होइन ।'
स्रोत:कांतिपुर दैनिक
