फेसबुकमा अब इन्स्टाग्राम
काठमाडौ, वैशाख १० - टाइम पत्रिकाको 'पर्सन अफ द इयर' भएको मान्छे टाई सुटमा ठाँटिएको कल्पना हुन्छ तर फेसबुकका निर्माता मार्क जकरबर्ग यस्तो देखिएनन् । करोडौं डलरका मालिक प्रायः जिन्स र टी-सर्टमा देखिने गर्थे । केही अगाडिसम्म उनको तस्बिर 'गुगल' गर्दा सुटमा कहिले पनि भेटिएको थिएन ।
अब भने 'स्टायन्डफोर्ड ड्रपआउट' जकरबर्गको सुटमा ठाँटिएको तस्बिर छ्यापछ्याप्ती पाइन्छ । उनी परिपक्व बिजनेस टाइकुन देखिन थालेका छन् । अबको केही दिनमा फेसबुकको सेयर सर्वसाधारणका हातमा पुर्याउने प्रयासमा छन्, उनी । फेसबुकको लोकपि्रयताका कारण आईपीओमार्फत त्यसको सेयर आउनेछ ।
फेसबुकले अर्को कम्पनी किनेपछि त्यो घटनाले पनि सोसल नेटवर्किङ क्षेत्रमा सनसनी मच्चाएको छ । एप्पल एप्स स्टोरबाट लोकपि्रयता कमाएको फोटो सियरिङ एप्लिकेसन 'इन्स्टाग्राम' लाई फेसबुकले अहिलेसम्मकै धेरै मूल्यमा किनेको छ । आईटीका जानकारहरूका अनुसार एउटा एप्लिकेसनलाई तिरेको यो नै अहिलेसम्मको सबैभन्दा बढी मूल्य हो ।
जकरबर्ग इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत केभिन सिस्ट्रोमलाई फेसबुकको सुरुवाती दिनमै आफूसँग आबद्घ गर्न चाहन्थे । तर उनी सफल भने हुन सकेका थिएनन् । जकरबर्गले हार भने मानेनन्, आठ वर्षपछि भए पनि सिस्ट्रोमलाई फेसबुकमा ल्याइछाडे, त्यो पनि सिस्ट्रोमको 'इन्स्टाग्राम' एप्लिकेसनसहित ।
जकरबर्गले इन्स्टाग्रामलाई फेसबुकसँग जोड्न १ अर्ब अमेरिकी डलर खर्चने भएका छन् । केभिन सिस्ट्रोमले माइक क्रिगरसँग मिलेर १५ महिनाअघि महिनामात्र इन्स्टाग्रामलाई बजारमा ल्याएका थिए । सायद यी दुईले सोचेका थिएनन् होला, इन्स्टाग्रामले उनीहरूलाई करोडपति बनाउनेछ भनेर ।
पोलारोइड क्यामराको अवधारणा अपनाएर निर्माण गरिएको इन्स्टाग्राम प्रयोगकर्ताको संख्या अकासिँदो छ । फोटोलाई केही सम्पादन गरेर सियरिङ गर्नुको मज्जा नै छुट्टै हुन्छ । सबै प्रयोगकर्ता फोटो सम्पादन गर्ने सपmटवेयरसँग फेमिलियर हुनुपर्छ भन्ने पनि छैन । साधारण फोटोलाई सीधै सियरिङ नगरेर केही सजावट गर्ने सजिलो विकल्पका रूपमा इन्स्टाग्रामलाई लिन सकिन्छ ।
इन्स्टाग्राम फोटो सियरिङ टुल हो । यसबाट विभिन्न सोसल नेटवर्कमा फोटो अपलोड गर्नु अगावै फोटोमा 'स्पेसल इफेक्ट' भर्न सकिन्छ । सार्वजनिक भएको छोटो समयमा नै इन्स्टाग्राम थुप्रै प्रयोगकर्ताको पि्रय फोटो इफेक्ट एप्लिकेसन बनेको छ । यो एप्लिकेसन सुरुका दिनहरूमा एप्पल मोबाइल डिभाइसमा मात्र थियो ।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई सजिलो बनाउन समय समयमा विभिन्न हेरफेर गरिरहेको छ । फेसबुक प्रयोगलाई अझ रोमाञ्चित बनाउन ठूलो मूल्य तिरेर कुनै एप्लिकेसन किनेको यो पहिलो हो । इन्स्टाग्रामलाई फेसबुकले फोटो सियरिङमा अझ रोचक बनाउने प्रयासमा छ ।
अन्य कम्पनीका एप्लिकेसन किन्ने पक्षमा फेसबुक अधिकारी भने देखिएका छैनन् । एप्पलका प्रयोगकर्ताले त इन्स्टाग्रामको मज्जा राम्ररी लिन पाए । इन्स्टाग्राम एन्ड्रोइड भर्सनमा आएको केही दिनमा फेसबुकमा समाहित हुने भयो । उसका पछिल्लो प्रयोगकर्तालाई के लागेको थियो भने अब इन्स्टाग्राम आफ्नो स्मार्टफोनमा प्रयोग गर्न पाइने छैन ।
ठूलो लगानीका बाबजुद पनि जकरबर्ग इन्स्टाग्रामलाई फेसबुकमा समायोजन गर्ने नभएर यसका फिचर फेसबुकलाई सुहाउँदो ढंगले राख्ने पक्षमा छन् । एप्लिकेसन मोबाइल डिभाइसमा पनि उपलब्ध हुनेछ । स्मार्ट फोनका प्रयोगकर्ता फेसबुकमा आबद्ध भएकै कारणले पनि जकरबर्गले इन्स्टाग्रामको सुविधालाई फेसबुकमा मात्र सीमित नगरेका हुन् ।
अब इन्स्टाग्राम प्रयोग गरेर इफेक्ट दिएको फोटो फेसबुकसँगै अन्य सोसल नेटवर्किङमा पनि अपलोड गर्न सक्ने छन् । जकरबर्गको इन्स्टाग्रामलाई फेसबुकसँग जोड्ने निर्णय सही छ कि गलत यो त आउने दिनले देखाउनेछ, तर जकरबर्गको यो कदमले इन्स्टाग्रामका मालिकलाई करोडपति बनाइदिएको छ ।
यस्तो निर्णय पछाडि इन्स्टाग्रामले प्रयोगकर्तालाई दिएको छिटो छरितो फोटो 'कस्टोमाइज' गर्ने सुविधा नै हो । अब फेसबुकका प्रयोगकर्ताले आफूले खिचेको फोटो सियरिङ गर्नु अगाडि इन्स्टाग्रामको मद्दतले रोचक 'इफेक्ट' दिन सक्ने छन् । फेसबुकले सोसल नेटवर्किङको क्षेत्रमा ल्याएको परिवर्तनसँगै एप्लिकेसन क्षेत्रलाई पनि नयाँ मोड दिएको छ ।
फेसबुकले १ अर्ब डलरमा इन्स्टाग्राम खरिद गरेको घटनाले कुनै पनि सिर्जनाको मूल्य त्यसको विविधताले भन्दा पनि प्रयोगकर्तालाई सजिलो बनाउने लोकपि्रयताले गर्ने तथ्यलाई प्रस्ट पारेको छ । एप्लिकेसनमा धेरै फिचर हुँदैमा राम्रो हुन्छ भन्ने छैन । इन्स्टाग्राम यसको उदाहरण हो ।
साभार :कांतिपुर दैनिक
