कोरिँदैछ फास्ट ट्रयाकको धर्को
छोक्रेडाँडा (मकवानपुर), वैशाख २ - काल्नामाथि खनेको फास्ट ट्रयाकले घरको एउटा पाखो चर्काइदिएको छ । केही महिनापछि मकवानपुर दोभानका अमृत तामाङको घरबास उठ्दैछ । र पनि उनी दुखी छैनन् । भन्छन्, 'घरछेउबाट बाटो बन्दैछ । पुर्खाको जिमिनमा सरकारले बाटो बनाउने भएपछि भाएअनुसार पैसा दिए हामी जहाँ जान पनि तयार छौं ।'
काठमाडौं-तराई जोड्ने द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले बाधा अवरोध नभए तीन महिनाभित्र ट्रयाक खोलिने जनाएको छ । पर्याप्त बजेटसहित समयमा मुआब्जा वितरण भए यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबैजसो ठाउँमा ट्रयाक खोलिसक्ने सेनाको दाबी छ । अमृतजस्ता धेरैको आशा बाटो बने अन्त जान पाइन्छ भन्ने छ । कारण बताउँदै भन्छन्, 'यहाँ बसेर केही भएन । बाटो बने अलि राम्रो ठाउँमा जान पाइन्थ्यो । परिवारलाई सुविस्ता हुन्थ्यो ।'
फास्ट ट्रयाकले बारामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थललाई राजधानीसित जोड्नेछ । अहिलेसम्म करिब ५० किलोमिटरको ट्रयाक सेनाले खोलेको छ । मुआब्जा विवादले खोकनादेखि छैमलेको कटुवालदहसम्मको ८ किलोमिटर- खण्डमा काम हुन सकेको छैन । घुमाउरो कम हुनेगरी सडकको डिजाइन भइरहेको, भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत फास्ट ट्रयाक आयोजनाका प्रमुख दिनेश प्रकाश बस्नेतले बताए ।
केही ठाउँमा मुआब्जाको विवाद नटुंगिएको र बारम्बार निर्माणमा अवरोधको धम्की आइरहेको आयोजनाका इन्जिनियर मुस्कान मास्केले बताए । 'फास्ट ट्रयाकको धेरैजसो क्षेत्र ऐलानी जग्गामा परेको छ,' उनले भने, 'यसले पनि मुआब्जामा समस्या देखिएको छ ।'
संसदीय टोली पुगेको थाहा पाएर छतिवन गाविसको श्रीपुरमा भेला भएका स्थानीयले तत्काल मुआब्जा नदिए निर्माण अवरुद्ध पार्ने चेतावनी दिए । सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका महासेनानी उद्धव बिष्टले मुआब्जाका कारण स्थानीयबाट अवरोध नभए असारसम्ममा ट्रयाक खोल्ने लक्ष्य रहेको बताए ।
ट्रयाक खोलिएका कतिपय ठाउँमा साना र हलुका सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छ । छैमलेखण्ड र छोक्रेडाँडामा टाटासुमो र फोरहि्वल सवारीसाधन सञ्चालन हुनेगरी ट्रयाक बनेको
छ । तर दर्जनौं ठाउँमा वाग्मती र अन्य खोल्सा तर्नुपर्ने भएको सडक स्तरोन्नत भइसकेको छैन । यसै आर्थिक वर्षको अन्त्यसम्म छैमलेदेखि टनेल निर्माण हुने गंगटेसम्म सवारी सञ्चालनको लक्ष्यका साथ सडक सुधारको काम भइरहेको सेनाले जनाएको छ । सेनाले बीचको करिब ७ सय मिटर खण्डमा २२ मिटर चौडा मोडेल ट्रयाकसमेत निर्माण गरेको छ ।
आयोजनाका प्राविधिकहरूका अनुसार सडक सोझो र फराकिलो बनाउनुपर्ने भएकाले सयभन्दा बढी पुल निर्माण गर्नुपर्ने हुन्छ । पुलको लम्बाइमात्रै करिब १० किलोमिटरको हाराहारीमा हुन्छ । तत्काल पुल नबन्ने भएकाले त्यसबाहेक हाल ६६ किलोमिटरको हाराहारीमा ट्रयाक खोले पुग्छ । तर मुआब्जा विवादले छैमले अगाडि उपत्यकाभित्रकै ८ किलोमिटर क्षेत्रमा सर्भेबाहेकको कुनै काम हुन सकेको छैन ।
स्रोत :कान्तिपुर

