|

लडाकुको पुनवर्गिकरण कार्य पुनः सुरु

काठमाडौं, वैशाख २ -सेना समायोजनका विवादित धेरैजसो विषयमा कार्यदलले सहमति जुटाएपछि शुक्रबारबाट शिविरमा रहेका माओवादी लडाकुको पुनवर्गिकरण कार्य पुनः सुरु भएको छ। कार्यदलको शुक्रबार बसेको बैठकमा छलफल सकारात्मक रुपमा अगाडि बढेपछि यो प्रकृया सुरु भएको हो।एकीकृत माओवादी नेतृत्वबाट शुक्रबार शिविरमा रहेका लडाकु र विशेष समिति सचिवालयका सदस्यलाई पुनर्वर्गीकरण पुनः प्रारम्भ गर्न निर्देशन दिएका थिए। निर्देशनलगत्तै शिविरमा खटिएका विशेष समिति सचिवालय सदस्यले लडाकु पुनर्वर्गीकरण कार्य प्रारम्भ गरेका हुन्।

'दिउँसो साढे एक बजे टेलिफोनबाट पुनः वर्गीकरण थाल्न हामीलाई निर्देशन आएको थियो,' लडाकु पुनर्वर्गीकरणका लागि चितवनको शक्तिखोरस्थित मुख्य शिविरमा खटिएका विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए, 'लगत्तै शिविरमा पुनर्वर्गीकरण सुरु भएको छ।'शिविरको सम्पूर्ण सुरक्षा जिम्मेवारी नेपाली सेनालाई मंगलबारै हस्तान्तरण गरिए पनि पार्टीबाट निर्देशन नआएको भन्दै शिविरमा रहेका लडाकुले पुनर्वर्गीकरण प्रक्रियामा सहभागिता जनाएका थिएनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबाट निर्देशन आएमात्र पुनर्वर्गीकरणमा सहभागिता जनाउने अडान लडाकुले लिँदै आएका थिए। 'पार्टी नेतृत्वको निर्देशन पाएपछि लडाकु उत्साहजनक रुपमा पुनर्वर्गीकरणमा सहभागी भए,' शर्माले भने।माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये १३ वटा सहायक शिविर खाली गरी त्यसको सुरक्षा व्यवस्था यसअघि नै सेना र सशस्त्र प्रहरीलाई दिइसकिएको थियो। कूल १७ हजार ७६ लडाकुमध्ये स्वैच्छिक अवकाश रोजेका ७ हजार ३ सय ६५ को यसअघि नै शिविरबाट औपचारिक बिदाइ भइसकेको छ। त्यसपछि १३ वटा सहायक शिविर खाली गरी बाँकी १५ वटा मुख्य तथा सहायक शिविरमा समायोजन र पुनर्स्थापना रोज्ने ९ हजार ७ सय ११ लडाकु थिए। छजनाले मात्र पुनर्स्थापना रोजेका छन्।
सातबुँदे सहमतिमा बढीमा ६ हजार ५ सय लडाकु मात्र समायोजन गर्न सकिने उल्लेख भएकाले शिविरमा बाँकी लडाकुलाई अन्तिम पटक स्वैच्छिक अवकाश रोज्न अवसर दिने निर्णय विशेष समितिले गरेको थियो। त्यसका लागि चैत २६ गतेबाट पुनर्वर्गीकरण प्रारम्भ गर्ने भनिए पनि लडाकुको अवरोधका कारण सुरु हुन सकेको थिएन। विवादित विषय समाधान गर्न गठिन कार्यदलको शुक्रबार बसेको बैठकमा प्राय विषयमा सहमति जुटेपछि माओवादी नेतृत्वले निर्देशन दिएलगत्तै लडाकु शुक्रबारबाटै पुनर्वर्गीकरणमा सहभागी भएका हुन्। 'निर्देशन ढिलो आएकाले शुक्रबार सात मुख्य शिविरमध्ये चारवटामा मात्र पुनर्वर्गीकरण सुरु भएको छ,' शर्माले भने, 'बाँकीमा शनिबार बिहानबाट हुन्छ।' पुनर्वर्गीकरण सुरु भएकामा चितवन, नवलपरासी, रोल्पा र सुर्खेतस्थित मुख्य शिविर छन् भने इलाम, सिन्धुली र कैलालीस्थित शिविरमा शनिबारबाट हुनेछ। शर्माका अनुसार शुक्रबार भएको पुनर्वर्गीकरण चितवनमा ३ सय २५, नवलपरासीमा १ सय ९, रोल्पामा ९४ र सुर्खेतमा १ सय ५१ गरी ६ सय ७९ जनाले स्वैच्छिक अवकाश रोजेका छन्। स्वैच्छिक अवकाश रोज्नेलाई उनीहरुले पाउनेमध्ये आधा रकम बराबरको चेक दिई शिविरबाट बिदाइ गरिएको छ। 'पहिलो दिनको पुनर्वर्गीकरण हेर्दा अहिले भएकामध्ये आधाले स्वैच्छिक अवकाश रोज्ने देखिन्छ,' शर्माले भने, 'कुनै अवरोध नआए चार दिनभित्र पुनर्वर्गीकरण सम्पन्न हुन्छ।'
स्रोत :नागरिक 

Posted by Butwalonline on 5:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लडाकुको पुनवर्गिकरण कार्य पुनः सुरु"

Leave a reply