|

पत्रकार पौडेलका हत्या आरोपी प्रहरीको नियन्त्रणमा

काँकडभिट्टा, वैशाख ७ - झापामा पत्रकार यादव पौडेलका हत्या आरोपी मदन राईले बिहीबार अपरान्ह आत्मपर्मण गरेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अपरान्ह ४ बजे उनले आत्मसमर्पण गरेका हुन् ।
प्रहरी उपरीक्षक गोविन्द थपलियासँग आत्मसपर्मण गर्नुअघि राईले स्थानीय सञ्चारकर्मीसँग भेट गरी आफू हत्यामा संलग्न नरहेको जिकिर गरे । 'यादवजीको हत्यामा मेरो कुनै भूमिका छैन,' उनले भने, 'तर मलाई बिनाकसुर आरोप लगाइयो ।'
पाँचथर स्थायी घर भइ अनारमनी- ३ विर्तामोडमा बस्दै आएका २८ वर्षीय राई चाहना युवा समूह विर्तामोडका सदस्य हुन् । उनले घटनाबारे प्रहरीलाई अनुसन्धान गर्न सहज बनाउन आफू प्रहरीसामू उपस्थित भएको बताए । उनले पौडेल हत्यापछि आफू सिलिगुडी बस्दै आएको जानकारी दिए ।
चैत २२ गते पत्रकार पौडेलको हत्या भएको थियो । पौडेल हत्यामा संलग्न होटल व्यवसायी संघ झापाका पूर्वअध्यक्ष युवराज गिरी, पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका सञ्चालक सोम ढकाल र मञ्जु ढकाल हिरासतमा छन् । यादवका जेठान छविलाल खतिवडाले उनीहरुसहित राईविरुद्ध पनि किटानी जाहेर दिएका थिए ।
प्रहरीले यसअघि सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा हत्यामा राईको संलग्नताबारे स्पष्ट छैन । नेपाल पत्रकार महासंघको मिसन टोलीले पनि यादव हत्यामा राईको प्रत्यक्ष संलग्नता नरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 5:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार पौडेलका हत्या आरोपी प्रहरीको नियन्त्रणमा"

Leave a reply