असोजदेखि जोगबनी-विराटनगर र जयनगर-बर्दिबास रेल्वे निर्माण सुरु
काठमाडौ, चैत्र २१ - भौतिक योजना तथा निर्माण मन्त्रालयले मुआब्जा रकम व्यवस्था गरेपछि तराई-मधेसका दुई महत्त्वपूर्ण ठाउँमा स्थगित ब्रोडगेज रेल्वे निर्माण कार्य आगामी असोजमा सुरु हुने भएको छ ।
नेपालका तर्फबाट जग्गा अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरण गर्न ५० करोड विनियोजन गरिएपछि भारत सरकारले तत्काल ठेक्का आह्वान गरी असोजदेखि तराई-मधेसका दुई ठाउँमा ८२ किलोमिटर लामो रेल्वे निर्माण कार्य सुरु गर्ने जानकारी भौतिक योजना सचिव तुलसी सिटौलाले दिए ।
दुई सीमा नाकाबाट पूर्व-पश्चिम लोकमार्ग जोड्ने यी दुई रेल्वेले विदेशबाट आयातित सामान भित्र्याउन तथा नेपाली सामान भारत र तेस्रो मुलुकमा निर्यात गर्न धेरै सहज र कम खर्चिलो हुने छ । रेल्वे सञ्चालन पछि ठूलो संख्यामा यात्रुलाई आवतजावत गर्न समेत सेवा पुग्ने छ । नेपाललाई भारतीय रेल सञ्जालसित जोड्ने यी रेलमार्ग मुलुकका लागि महत्त्वपूर्ण हुने छन् ।
भारतले जोगबनीदेखि बुधनगर (विराटनगरको दक्षिणी भेग) हुँदै नयाँबजारसम्म र जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म रेल्वे निर्माण गर्न विस्तृत अध्ययन सम्पन्न गरी सुरु निर्माण कार्य सुरु गर्न तीन महिनाअघि ठेक्का आह्वान गरिसकेको थियो । तर नेपालका तर्फबाट आवश्यक रकमको अभावमा मुआब्जा वितरण कार्य हुन नसकेपछि ठेक्का प्रक्रिया अनिश्चित कालसम्मका लागि स्थगित गरेको थियो । भारतले नेपालले मुआब्जा रकम व्यवस्था गरी वितरण सुरु गरेपछि मात्र ठेक्का प्रक्रिया अघि बढाउने जानकारी गराएको थियो ।
भौतिक योजना मन्त्रालयले ती दुई ठाउँमा रेल्वे निर्माणका लागि आपmनातर्फबाट आवश्यक मुआब्जा रकम विनियोजन गरिसकिएको र छिट्टै वितरण कार्य सुरु हुने जानकारी गराउँदै ठेक्का प्रक्रिया अघि बढाउन भारतीय सरकारलाई अनुरोध गरेको छ । 'हामीले मुआब्जाका लागि आवश्यक रकम व्यवस्था गरिसक्यौं । अब वितरण कार्य थाल्छौं भन्ने जानकारी गराउँदै निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन कूटनीतिक च्यानलबाट एक साताअघि पत्र पठाई भारत सरकारलाई आग्रह गरिसकेका छौं,' सिटौलाले भने ।
उनका अनुसार अब भारत सरकारले रेल्वे निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने छ । दुई/तीन महिनामै ठेक्का प्रक्रिया पूरा भई आगामी असोजसम्ममा निर्माण कार्य सुरु हुने जानकारी सिटौलाले दिए । दुवै ठाउँमा रेल्वे निर्माण कार्य ढिलोमा पाँच वर्षमा सम्पन्न हुने छ । भारत सरकारले रेल्वे निर्माणका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
सिटौलाका अनुसार दुई ठाउँमा जग्गा अधिग्रहण गर्न सवा अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्छ । तर अर्थ मन्त्रालयले बजेटमा मुआब्जाका लागि जम्मा ४ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । भारतले ताकेता गरेपछि भौतिक योजना मन्त्रालयले मुआब्जा वितरण गर्न यस वर्षका लागि ५० करोड रुपैयाँ व्यवस्था गरिसकेको छ । बाँकी रकम सरकारले आगामी बजेटबाट व्यवस्था गर्ने छ ।
'अर्थ मन्त्रालयले मुआब्जाका लागि थप १५ करोड रुपैयाँ दियो ।
हाम्रो मन्त्रालयले विभिन्न योजनामा बचत रकमबाट ३१ करोड रुपैयाँ रेल्वेका लागि रकमान्तर गरेर यस वर्ष ५० करोड रुपैयाँ मुआब्जा वितरण गर्छौं । बाँकी रकम आगामी बजेटमा राखी मुआब्जा वितरण कार्य सम्पन्न गर्छौं,' सिटौलाले भने ।
भारतले जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्म ६९ किमि र जोगबनीदेखि विराटनगरसम्म १३ किमि रेल्वे निर्माण गर्ने छ ।
भारतले यी रेल्वेसित जोडिने आफ्नो भूभागतर्फको रेल्वे निर्माण कार्य भने सुरु गरिसकेको छ ।
जोगबनी-विराटनगर नाम दिइएको रेल्वे भारतीय सीमा जोडिने विराटनगरको बुटनगरबाट नयाँबजारसम्म निर्माण गरिने छ । बुधनगर स्टेसन मुलुकको ठूलो व्यापारिक नाकामध्ये पर्ने विराटनगरको एकीकृत भन्सार पोस्टसित जोडिने छ ।
जयनगरदेखि महोत्तरीको सीमासम्म ५१ किमि न्यारोगेज रेल्वे छ । तर त्यसमध्ये जयनगरदेखि जनकपुरसम्म जम्मा २९ किमिमा मात्र रेल सेवा सञ्चालनमा छ । ५१ किमि रेल्वेलाई न्यारोगेजबाट भारत सरकारले स्तरोन्नति गरी फराकिलो र आधुनिक ब्रोडगेजस्तरको बनाउने छ भने बाँकी बर्दिबाससम्म १९ किमि ब्रोडगेजस्तरको नयाँ रेल्वे निर्माण गर्ने छ ।
भारतले नेपालसित आफ्नो सहयोगमा तराईको पूर्वदेखि पश्चिमसम्म ब्रोडगेज रेल्वे निर्माण गरिदिने सहमति गरिसकेको छ, त्यस अतिरिक्त पूर्व-पश्चिम रेल्वेसित जोडिने गरी महत्त्वपूर्ण व्यापारिक नाका भैरहवा, वीरगन्ज, नेपालगन्ज लगायत महत्त्वपूर्ण व्यापारिक नाकासम्म सम्पर्क रेल्वे निर्माण गरिदिने सहमतिसमेत भारतले गरेको छ । पूर्व-पश्चिम रेल्वेमा यी दुवै सम्पर्क रेल्वेका रूपमा जोडिने जानकारी समेत भौतिक योजनाका अधिकारीले दिए ।
स्रोत :कान्तिपुर दैनिक
