सवारी दुर्घटनामा दुईजनाको मृत्यु
सन्तोष पोखरेल, पोखरा, चैत १८- कास्कीका विभिन्न ठाउँमा शनिबार भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुई दर्जन बढि यात्रु घाईते भएका छन्। हेम्जामा एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार पर्वतको फलेवास-३ का २६ वर्षिय सन्तोष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बागलुङबाट पोखरा आउँदै गरेको बा ९ च ७८१ नम्बरको एम्बुलेन्सले पोखराबाट पर्वत जाँदै गरेको ग ६ प ३०९९ नम्बरको मोटरसाईकललाई हेम्जाको बास्कोटमा ठक्कर दिएको थियो।
घाईते कुँवरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मोटरसाईलमा सवार पर्वत फलेवासकै ३५ बर्षिय गोपाल श्रेष्ठ घाईते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकललाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी पोखराको नदीपुरमा माईक्रोबसको ठक्करबाट एकजना साइकल यात्रीको ज्यान गएको छ। बगरबाट महेन्द्रपुलतर्फ आईरहेको ग १ ख १७९१ नम्बरको माईक्रोबसले नदीपुरस्थित उकालोमा ठक्कर दिदा साईकल चालकको ज्यान गएको हो। मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ।
त्यस्तै पोखराबाट बागलुङ जाँदै गरेको ग १ ख १४७७ नम्बरको बस लुम्लेमा दुर्घटना हुँदा दुई दर्जन बढि यात्रु घाईते भएका छन्। घाईतेहरुको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय, चरक, फिष्टेल, मणिपाल र मेट्रो अस्पतालमा उपचार भईरहेको छ। घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
स्रोत :नागरिक न्युज