सेनाले दुई फुटबल खेलाडी 'खोस्यो'
काठमाडौ, फाल्गुन ३० - एएफसी च्यालेन्जकपमा नेपाली फुटबल टिम सोमबार तुर्कमेनिस्तानविरुद्ध दशरथ रंगशालामा खेल्दै थियो । तीन बजे सुरु खेलमा नेपालका ११ खेलाडी मैदानमा थिए । प्लेयर बक्समा ७ जना । २० मध्ये दुई खेलाडी न मैदानमा थिए, न त प्लेयर बक्समै ।
तुर्कमेनिस्तानविरुद्ध नेपाल प्रतिस्पर्धा गरिरहँदा ती दुई खेलाडी पनि फुटबलै खेलिरहेका थिए, तर रंगशालामा नेपाली टिमबाट होइन । लगनखेलस्थित राजदल गणमा भइरहेको 'साउथ एसियन आर्मी स्पोर्ट्स मिट' मा श्रीलंकाली सेनाविरुद्ध नेपाली सेनाको टिमबाट उनीहरू भिड्दै थिए । उनीहरूको नाम भने रंगशालाको च्यालेन्जकप खेलिरहेको नेपाली टिमको सब्स्िटच्युट सूचीमा थियो ।
यस्तोमा तुर्कमेनिस्तानसँगको खेलपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्राहम रोबर्टसले पोस्ट म्याच कन्फ्रेन्समा भने, 'टिमका दुई महत्त्वपूर्ण खेलाडी आर्मीले मध्यरातमा अपहरण गरेर लग्यो । यहाँ आर्मी शक्तिशाली छ । त्यसैले २१औं शताब्दीमा पनि १६औं शताब्दीकै जस्तो घटना भयो । विश्वमा अन्त कतै यस्तो हुँदैन ।'
पहिलो रोजाइका मिडफिल्डर राजु तामाङ र तेस्रो नम्बरका गोलकिपर विकास मल्ललाई सेनाले नेपाली राष्ट्रिय टिम बसेको गोदावरीस्थित होटल भ्यु भृकुटीबाट आइतबार राति साढे ११ बजे लगेको थियो । 'उनीहरू सुतिसकेका थिए । बिनासूचना सेनाले उठाएर लगे । पठाएन भने जसरी नि लान्छु भनेर जिद्दी गरे । हामीले खेलाडी रोक्न सकेनौं,' नेपाली टिमका म्यानेजर कृष्णभक्त मानन्धरले भने । दुवै खेलाडी सेनाकै हुन् । एक वर्षयता सेनाबाट खेल्दै आएका टंक बस्नेतलाई भने लगिएको थिएन ।
प्रतियोगिता भइरहँदा सेनाले बिनाजानकारी राष्ट्रिय खेलाडी त्यसरी लानु नियमविपरीत भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बताए । 'सोमबार बिहान ९ बजे सेनाले खेलाडी चाहिएकोबारे पत्र दियो, तर लगिसकेपछिको पत्रको के अर्थ ?', थापाले भने ।
एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्षसमेत रहेका उनले भने, 'जानकारी नदिई सुतिरहेकै बेला खेलाडी किन लगे ? सेनाजस्तो मर्यादित संस्थाले किन यस्तो गर्यो ? घटनाले चकित बनाएको छ ।' सेनाले अगाडि नै जानकारी दिएको भए समझदारीमा खेलाडी पठाउन पनि सकिने उनले बताए । नेपाली फुटबलमा यस्तो घटना पहिलो हो ।
'आर्मी स्पोर्ट्स मिट' मा श्रीलंकाविरुद्धको खेल महत्त्वपूर्ण भएकाले आफ्ना दुई खेलाडी लानुपरेको सेनाका प्रवक्ता रमीन्द्र छेत्रीले बताए । 'च्यालेन्जकपमा नेपाल पहिलो चरणबाटै बाहिरिसकेकाले खेल प्रतिष्ठासँग मात्र जोडिएको थियो,' उनले भने, 'तर नेपाली सेनाका लागि श्रीलंकाविरुद्धको खेल फाइनल पुग्नलाई महत्त्वपूर्ण थियो । त्यसैले लग्यौं । दुई खेल एकै दिन पर्नु संयोग हो ।'
'संवेदनशील घटना'
'सेनाले नराम्रो परम्परा सुरु गर्यो,' थापाले भने, 'उसले जस्तै भोलि सशस्त्र, जनपद प्रहरी र क्लबहरूले आ-आफ्ना खेलाडी लैजालान् । त्यसबेला के गर्ने ? यो निकै संवेदनशील घटना हो । कारण पत्ता लगाएर निर्णय गर्नेछौं ।'
'राष्ट्रिय टिममा देशको प्रतिष्ठा गाँसिएको हुन्छ । त्यसैले सेनाले शक्ति देखाएर खेलाडी लानु राम्रो होइन,' एन्फाका टेक्निकल डाइरेक्टर भीम थापाले भने, 'त्यसले खेलाडी र व्यवस्थापनमा मनोवैज्ञानिक रूपमा नकारात्मक असर पार्छ । यसको प्रभाव नेपालले सोमबारै बेहोर्नुपर्यो ।'
राष्ट्रिय टिमका पूर्वप्रशिक्षकसमेत रहेका उनले भने, 'नेपाली फुटबलमा आर्मी एउटा क्लब मात्र हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) को नियमानुसार कुनै पनि क्लबले राष्ट्रिय संघको स्वीकृतिबिना आफ्नो खेलाडी लान पाउँदैन । त्यसैले आर्मीलाई एन्फाले कारबाही गर्न सक्नेछ ।'
स्रोत :कान्तिपुर