लुम्बिनी भ्रमण बर्ष प्रचार गर्दै लण्डनस्थित नेपाली दुतावास
लण्डन,फाल्गुन २७ । बेलायतस्थित नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले युरोपियन तथा अमेरिकन पर्यटकहरुका लागि नेपाल उचित गन्तव्य भएको बताएका छन । लुम्बिनी भ्रमण बर्ष २०१२ लाई सफल पार्न लण्डनस्थित नेपाली दुतावासमा मंगलबार आयोजित कार्यक्रममा राजदुत डा.चालीसेले छोटो होलीडे भएकाहरुका लागि नेपाल उचित गन्तव्य भएको दोहोर्याए ।
प्रसिद्ध ट्राभल राइटर तथा नेपाली सञ्चारकर्मीहरुमाझ आजोजना गरीएको कार्यक्रममा उनले नेपाल सुरक्षित गन्तव्य भएको समेत बताए । नेपाल भ्रमण बर्ष २०११ अत्याधिक सफल भएको बताउंदै चालीसेले लुम्बिनी भ्रमण बर्ष पनि सफल हुने विश्वास लिए ।
जुन सुकै उमेर समुहका पर्यटकहरुका लागि नेपाल उपयुक्त भएको जानकारी दिंदै राजदुत चालीसेले भने, ‘मनोरम हिम श्रृंखला, र्याफ्टिङ, बञ्जीजम्म, प्याराग्लाइडिङ एवं दृश्यबलोकन सबैको आनन्द लिन नेपाल उपयुक्त छ ।’
दुतावासकी कार्यलय सचिव प्रतिक्षा गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपाल सम्बन्धि तयार पारिएको बृत्तचित्र प्रदर्शन गरीएको थियो ।
कार्यक्रममा मिस सियन प्रिचार्ड जोन्स र बब गिबोनसले नेपाल प्याराडाइज फर टुरिजमका बारेमा संकलन गरेका सामाग्रीहरु प्रोजेक्टर मार्फत प्रश्तुत गरेका थिए । त्यस्तै मिस स्टेफिन ग्रोसरले द ग्रेट हिमालयन ट्रेइल बृत्तचित्र मार्फत देखाएकी थिइन ।
सो अवसरमा सहभागिहरुबीच राफल ड्र गराइएको थियो । राफल ड्र का विजेताको नाम दुतावासकी उपनियोग प्रमुख अम्बिका लुइटेल मानन्धरले उद्घोस गरीन । राफल ड्र को स्पोन्सर फर्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टले गरेको थियो ।
सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्न तमुधि लण्डनको सौजन्यमा शेर्पा तथा तामाङ जातीको नृत्य देखाइएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागि भएकाहरुले कार्यक्रमले सकारात्मक सन्देश दिएको बताएका थिए । उनीहरुले यस्ता कार्यक्रबाट नेपालको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिए ।