|

सामसुङ जावलाखेल युथको बुटवलसँग गौरवमय संयोग

बुटवल, पुस २८ - सामसुङ जावलाखेल युथको बुटवलसँग गौरवमय संयोग जोडिएको छ। गतवर्ष टोलीले क्लब इतिहासमै पहिलोपटक कुनै प्रमुख उपाधि उचाल्ने सफलता बुटवलमै पाएको थियो।
३७ वर्षे इतिहासमा पहिलो पटक प्रमुख उपाधिका रूपमा बुटवलको तिलोत्तमा गोल्डकप उचालेको टोली बुटवलमा त्यही इतिहास दोहोर्‍याउने आशामा छ।
त्यतिखेर उपाधि उचाल्दाका प्रशिक्षक राजाराम कार्की अहिले राष्ट्रिय लिग खेलिरहेको जावलाखेल टोलीमा मुख्य प्रशिक्षक किशोर केसीको सहायकका रूपमा छन्। बुटवलको मैदानमा जावलाखेललाई अर्को उपाधि दिलाउनेमा बढी आशावादी उनी भन्छन्, 'यो ठाउँ हाम्रा लागि भाग्यशाली छ। हामीले यहाँ तिलोत्तमा पनि जितिसकेका छौं। अब राष्टिय लिग दोस्रो हुनसक्छ।'

तिलोत्तमा गोल्डकप जित्दा जावलाखेलले पहिलो खेलमा धरानलाई हराएको थियो। यसपालि पनि त्यही संयोग जुरेको छ। बुधबार राष्ट्रिय लिग यात्राअन्तर्गत बुटवलको पहिलो खेलमा जावलाखेलले धराने टोलीलाई नै सिकार बनायो। त्यतिखेर उपाधिसम्मको यात्रा गर्दा जावलाखेलले दोस्रो खेलमा पुलिस, सेमिफाइनलमा हिमालयन शेर्पा तथा फाइनलमा आर्मीलाई सिकार बनाएको थियो।

'यसपालि पनि पहिलो खेलमा धरानलाई हरायांै, अब हिमालयन शेर्पा र पुलिससँग खेल्नुछ,' उत्साहित कार्कीले भने, 'यसपालि पनि संयोग मिलेको छ। खेल्नुपर्ने टिम पनि त्यही बेलाकै छन्। मैले यसपालि धेरै आशा गरेको छु। हाम्रो तुलनामा पुलिसका सबै खेल कठिन छन्।'

शीर्ष स्थानको पुलिसभन्दा ३ अंक कम लिएर दोस्रो स्थानमा रहेको जावलाखेलले बाँकी ४ खेलमा हिमालयन शेर्पा र पुलिसका साथै एनआरटी र पोखराको क्याराभान संगम युवा क्लबसँग खेल्नेछ। पुलिसले भने जावलाखेल, लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब, हिमालयन शेर्पा र मेगा थ्री स्टारको सामना गर्न बाँकी छ।
                                                                                                                                           स्रोत :नागरिक 

Posted by Butwalonline on 6:36 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामसुङ जावलाखेल युथको बुटवलसँग गौरवमय संयोग"

Leave a reply