|

वीर अस्पतालका चिकित्सकले प्रशासनका उपसचिवको कार्यकक्षमा तोडफोड


काठमाडौं, पुस २८ - आफ्नो विभागका कर्मचारीको हाजिरीमा रातो लगाएको भन्दै वीर अस्पतालका एक वरिष्ठ चिकित्सकले प्रशासनका उपसचिवको कार्यकक्षमा तोडफोड गरेका छन्।रेडियोलोजी विभागका डा. केबी रावलले बुधबार उपसचिव अर्जुन गौतमको कार्यकक्षको ढोका फुटाइदिएका हुन्।



विभागका कर्मचारी एवं वरिष्ठ चिकित्सकहरू समयमा अस्पतालमा नआएको भन्दै उपसचिव गौतमले उनीहरूको हाजिरीमा रातो लगाइदिएका थिए। गौतमका अनुसार बुधबार पनि विभागका अधिकांश कर्मचारी समयमा नआउँदा 'रिपोर्ट दिने मान्छेसमेत नभएको' भन्दै विरामी पक्ष गुनासो लिएर प्रशासनमा आइपुगेका थिए। 'त्यसपछि ती कर्मचारीको हाजिरीमा रातो लगाइदिएको हुँ',उनले भने।त्यसपछि आक्रोशित रावल केही चिकित्सक र कर्मचारीलाई लिएर प्रशासनमा पुगेका थिए।गौतमको कार्यकक्षमा ताला लगाएको भेटेपछि ढोका फुटाइदिएको उनले स्वीकारेका छन्।आफूलाई रक्तचापको समस्या रहेको र गौतमको व्यवहार सहन नसकेर ढोका फुटाएको नागरिकसँगको कुराकानीमा डा. रावलले स्वीकारेका छन्। 'सधैं मेरै विभागलाई टार्गेट गर्ने?' उनले भने, 'मेरो विभागमा हस्तक्षेप गर्न प्रशासनका मान्छेको के हैसियत?'गौतमले भने रेडियोलोजीमा चिकित्सक र कर्मचारी समयमा नआउने धेरै गुनासो आएपछि कडाई गर्नुपरेको बताए। 'बिरामी आएर मलाई नै गुनासो गर्छन्, 'हेलो सरकार'बाट मलाई नै सोधनी हुन्छ, यस्तो मनपर्दी कसरी हेरेर बस्नु भनेर रातो लगाइदिएको हुँ,' उनले भने।यसैबीच अस्पतालका निर्देशक डा. बुलन्द थापाले घटनालाई लिएर डा. रावलसँग २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

वीर अस्पतालका विभिन्न विभागमा समयभन्दा धेरै ढिला गरेर आउने र हाजिर गरेर फर्किने प्रवृत्ति नयाँ नभएको प्रशासनका कर्मचारीहरू बताउँछन्। त्यसैले विभिन्न विभागको छड्के जाँच गरी अस्पताल समयसम्म चिकित्सक एवं कर्मचारीलाई बस्न लगाउने रणनीतिमा प्रशासन छ।अघिल्लो वर्ष प्रधानमन्त्री मातहतको राष्ट्रिय सर्तकता केन्द्रले अस्पतालमा साता लामो अनुसन्धान गरी अधिकांश वरिष्ठ चिकित्सक मुस्किलले अस्पताल आउने गरेको, आए पनि पूरा समय नबस्ने गरेको निष्कर्ष निकालेको थियो।
                                                                                                                                                                                   स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 8:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वीर अस्पतालका चिकित्सकले प्रशासनका उपसचिवको कार्यकक्षमा तोडफोड"

Leave a reply