सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौति गर्यो
काठमाडौ, माघ १२ - मूल्यवृद्धिको चर्को बिरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौति गरेको छ । प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८५ रुपैयाँले घटाइएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी मूल्य घटाइएको जानकारी दिएका छन् । उनले विद्यार्थी, गरीब परिवार र किसानलाई इन्धनमा राहतको तयारी गरिएको पनि बताए ।
माघ ४ गते सरकारले इन्धनको मूल्य बढाएपछि विभिन्न दल निकट विद्याथी र युवा संघले आन्दोलन गर्दै आएका छन् । अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १ सय १२, डिजेल र मट्टितेलको ८१ तथा प्रति सिलिण्डिर १ हजार ४ सय १५ रुपैयाँ भएको छ ।
यसअघि खाना पकाउने ग्यासको प्रति सिलिण्डिर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा उपभोक्ताले १ हजार ५ सय, पेट्रोल प्रति लिटर १ सय ५ रुपैयाँ रहकोमा १ सय १५ रुपैयाँ तथा ७६ रुपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको थियो ।
यसैबीच,सरकारले मूल्यवृद्धिमा कटौत गरेपनि विद्यार्थी संगठनहरु बिहीबार पनि सडकमा छन् । त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले एक घण्टाका लागि गरेको बन्दले त्यस क्षेत्रको यातायात संचालन अस्तव्यस्त बनेको छ ।
स्रोत :कांतिपुर